तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा 

भोजपुर । भोजपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । 

जिल्लाका दुई नगरपालिका र सात गाउँपालिका गरी नौ वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि सोमवार औपचारिक रूपमा भोजपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । 

खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङले एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्दे प्रतिबद्धता हस्ताक्षर समेत गर्नुभयो ।  जिल्लाको खोप सुनिश्चितताको लागि जन्मिएदेखि १५ महिनासम्मका बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै किसिमका खोप लगाएको पाइपछि यस्तो घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख सृजना बनमालीले जानकारी दिनुभयो । 

खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख थुलुङले आगामी दिनमा पनि खोप लगाउनबाट कोही पनि बालबालिका बञ्चित नहुने गरी काम गर्न स्वास्थ्यकर्मी तथा महिला स्वयम सेविकाहरूलाई आग्रह गर्नुभयो । 

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले सबै बालबालिकाले जन्म पश्चात् खोप लगाउन पाउने र बाच्न पाउने नैसर्गिक अधिकार भएकाले गुणस्तरीय र प्रभावकारी खोप सेवा लक्षित वर्गसम्म पुर्‍याउनु सबैको दायित्व र जिम्मेवारी भएको बताउनुभयो । 

नेपाल सरकारले खोप सेवा पाउन पर्ने लक्षित बालबालिकाहरूले जन्मेको १५ महिनाको उमेर भित्रै पूर्ण खोप प्राप्त गरी विभिन्न रोगहरूबाट सुरक्षित हुन सकुन भन्ने अभिप्रायले पूर्ण खोपको अवधारणा २०६७ बाट शुरु गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button