आउँदो आर्थिक वर्षदेखि पोखरामा पर्यटकको तथ्याङ्क सङ्कलन गरिने

पोखरा । आउँदो आर्थिक बर्ष २०८२/०८३ बाट पोखरामा आउने विदेशी पर्यटकको तथ्याङ्क सङ्कलन गरिने भएको छ । पर्यटनको राजधानी घोषणा भएको १६ महिना पछि गण्डकी प्रदेश सरकारले विभिन्न निकायसँगको सहकार्यमा पोखरा आउने पर्यटकको तथ्याङ्क सङ्कलन गर्ने भएको गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रालयका सचिव इन्द्रप्रसाद बस्यालले बताउनु भयो ।
गण्डकी प्रदेशको मुख्य तीन वटा नाका रामदी, आवुखैरेनी र त्रिवेणीमा विदेशी पर्यटकहरू गण्डकी प्रदेशमा प्रवेश गर्दा उहाँहरूको तथ्याङ्क सङ्कलन गर्ने वा अध्यावधिक गरिने उहाँले बताउनु भयो । पोखराका पर्यटन व्यवसायीहरूको छाता संस्था पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोम नारायण श्रेष्ठले पोखरामा पर्यटकहरूको तथ्याङ्क समयमा राख्न नसक्दा पोखराको विकास कसरी र कस्तो गर्ने भन्ने विषयमा अन्योल हुने दाबी गर्नुभयो ।
पोखरामा कुन कुन देशका पर्यटकहरू कति मात्रामा आउँदा रहेछन् र त्यसको आधारमा विभिन्न कार्ययोजना विकास र उहाँहरूको इच्छा र चाहना अनुसारको कार्यक्रम प्याकेजहरू निर्माण गर्न सहज हुने उहाँले दाबी गर्नुभयो । पोखरामा कुन कुन देशका कति पर्यटक भित्रिन्छन् र उनीहरूको इच्छा र चाहना अनुसारको रणनीतिक रुपमा कार्ययोजना बनाउन सके पोखराबाट पर्यटन क्षेत्रबाट धेरै लाभ लिन सकिने उहाँको भनाई थियो ।
अहिलेको अवस्थामा पोखरामा काठमाण्डौं आएका पर्यटकको करिब ४० प्रतिशत जसो पोखरा आउने गरेको दाबी गरिन्छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आयोजनामा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०८० चैत ४ गते औपचारिक रुपमा पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका गर्नु भएको थियो । हवाई मार्गबाट पोखरा भित्रिने पर्यटकहरूको सङ्ख्या पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने गरेको छ भने त्यसैगरी पोखरामा सडक मार्ग हुँदै भित्रिने पर्यटकहरूको तथ्याङ्क राख्ने कुनै संयन्त्र स्थापना हुन नसकेकोमा पोखराका पर्यटन व्यावसायिको गुनासो छ ।
प्रतिक्रिया राख्नुहोस्