नागरिक लगानी कोषका सेवाग्राहीलाई ब्याजमा छुट दिइने
काठमाडौं । नागरिक लगानी कोषले नियमित कोष कट्टी गर्ने सेवाग्राहीले लिएको आवास, सरल र शैक्षिक कर्जामा तोकिएको समयमा व्याज भुक्तानी गरे १० प्रतिशत छुट दिने भएको छ ।
कोषले गत चैतदेखि आगामी असार मसान्तसम्म कर्जाको भुक्तानी गरेमा सो अवधिमा पाकेको व्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको हो ।
कोष सञ्चालक समितिको आज बसेको सञ्चालक समितिको बैठकले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको अवस्थालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको हो ।
कोषका सूचना अधिकारी उद्धव सिल्वालका अनुसार कोषमा नियमित रुपमा रकम जम्मा गरी कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष, उपदान कोष तथा लगानीकर्ता हिसाब योजनामा सहभागी भएका सेवाग्राहीलाई कोरोना भाइरसबाट सङ्क्रमित भई मृत्यु भएको प्रमाणित भएमा निजको हकवालालाई क्षतिपूर्तिबापत रु दुई लाख प्रदान गर्ने निर्णय गरिएको छ ।
उक्त निर्णयले विषम परिस्थितिमा सेवाग्रहीलाई सहयोग पुग्ने अपेक्षा कोषले गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्