तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा असार २४ देखि क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

पोखरा । पोखराको नदीपुरमा यही असार २४ देखि २८ गतेसम्म हुने क्लब स्तरीय पुरुष भलिबल तथा भेट्रान्स भलिबल प्रतियोगिताको हुने भएको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखराको नदीपुरमा सञ्चालन हुने तेस्रो संस्करणको क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुख्य नारासहित ‘सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशील रहँदै आएको फाउण्डेशनले आयोजना गरेको प्रतियोगिता पोखरा–३ नदीपुर छन्त्याल समाजको भलिबल कोर्टमा हुने भएको लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक लामा अमृत गुरुङले बताउनुभयो ।  

प्रतियोगिताको विजेताले १ लाख २५ हजार, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ३० हजार र सान्त्वना स्थान हासिल गर्नेले १५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । यस्तै भेट्रान्सतर्फको विजेताले ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको विधागततर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर,सर्भर, उदीयमान खेलाडी र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् ।

क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा ६ टिमलाई मात्र सहभागी गराउने लामा अमृत फाउण्डेशन घान्द्रुकले जनाएको छ । क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा ५ समूहको मात्र सहभागिता भए राउण्ड रोविनको आधारमा सञ्चालन हुने अन्तर्राष्ट्रिय भलिबल रेफ्री टहलसिंह थापामगरले बताउनु भयो । ‘क्लब स्तरीय प्रतियोगितामा ६ टिमलाई मात्र समावेश गर्ने आयोजकले निर्णय गरेको छ । प्रतियोगितासँगै विविध सांस्कृतिक कार्यक्रमहरू समेत हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button