कञ्चनपुरमा २३ हजार हेक्टरमा धान रोपाइँ सम्पन्न
कञ्चनपुर। कञ्चनपुरमा हालसम्म २३ हजार २७८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। यो जिल्लामा कुल धानखेतीयोग्य ४८ हजार ४९६ हेक्टरमध्ये करिब ४८ प्रतिशत रोपाइँ भएको हो।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका सहायक बाली विकास अधिकृत धर्म साउँदका अनुसार वर्षा जारी रहेकाले आगामी दुई साताभित्र रोपाइँको कार्य ८० प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ। सिँचाइको सुविधा पुगेका क्षेत्रहरूमा रोपाइँ समयमै सुरु भएकाले उत्पादनमा सकारात्मक प्रभाव पर्ने उहाँको भनाइ छ।
कृषकहरूले मुख्यतया सर्जु ५२ जातको धान रोप्दै आएका छन् भने राधा–४, सुख्खा–१ र २, बहुगुणीजस्ता जातहरूको पनि प्रयोग गरिएको छ। प्रतिहेक्टर चार मेट्रिक टन उत्पादन हुने आँकलन गरिएको छ।
महाकाली सिँचाइ आयोजनाको नहर पुगेका क्षेत्र—भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, बेलडाँडी गाउँपालिका, बेलौरी नगरपालिका—का किसानले जेठको अन्तिम साता देखि नै रोपाइँ सुरु गरेका थिए। नहर नपुगेका क्षेत्रमा भने किसानले स्यालो ट्युवेल र डिप ट्युवेलमार्फत सिँचाइ गरी असारको पहिलो सातादेखि रोपाइँ गर्दै आएका छन्।
शुक्लाफाँटा नगरपालिका–३ का किसान विलबहादुर चौधरीले पर्याप्त वर्षा नहुँदा निजी स्यालो ट्युवेल प्रयोग गरी खेतमा सिँचाइ गरेको बताउनुभयो। “समयमै रासायनिक मल पायौँ, ट्युवेलको सहायताले सिँचाइ गर्न सकेका छौँ,” उहाँले भन्नुभयो।
धानको बीउ, विषादी, कृषि उपकरणलगायतमा कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाहरूले अनुदान प्रदान गर्दै आएका छन्। उत्पादनमा उच्च हुने अपेक्षासहित किसानले हाल स्थानीय जातभन्दा वर्णशंकर (हाइब्रिड) जातका धान खेती गर्न थालेका छन्।
प्रतिक्रिया राख्नुहोस्