तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व प्रहरी अधिकृत कृष्णमोहन थारुको व्यावसायिक खेतीमा नयाँ ऊर्जा

बाँके। नेपाल प्रहरीबाट अवकाश लिएपछि कृषि पेशामा फर्किएका कृष्णमोहन थारु अहिले व्यावसायिक खेतीमा सक्रिय हुनुहुन्छ। बाँकेको बैजनाथ गाउँपालिका–८ मा रहेको आफ्नै के.एम. कृषि फर्ममार्फत उहाँले सात वर्षदेखि तरकारी र खाद्यान्न उत्पादन गर्दै आउनुभएको छ।

चार कठ्ठा जमिनमा तरकारी र पाँच बिघा क्षेत्रमा धान–गहुँ खेती गर्दै आएका थारु ७० प्रतिशत अनुदानमा मिनी टिलर प्राप्त भएपछि उत्साहित हुनुहुन्छ। यसअघि निजी लगानीमा मिनी टिलर किन्नुभएका थारुले यान्त्रिक उपकरणको सहज उपलब्धताले उत्पादनमा थप मद्दत पुगेको बताउनुभयो।

बैजनाथ गाउँपालिकाले चालु आर्थिक वर्षको ‘पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषकलाई पावर टिलर, मिनी टिलर, च्याप कटर, ई–लोडर अटो लगायतका उपकरण ७० प्रतिशत अनुदानमा वितरण गरेको छ।

गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार कृषकको माग, अनुभव र संवादका आधारमा योजना तयार पारिएको हो। हालसम्म १०२ वटा मिनी टिलर र २१ वटा पावर टिलर वितरण भइसकेको उहाँले जानकारी दिनुभयो। “निर्वाचनको बेलाको प्रतिवद्धता कार्यान्वयनको चरणमा छौं,” अध्यक्ष शाहीले भन्नुभयो।

कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माले पालिकाले यान्त्रिकीकरणसँगै सिँचाइ, ढुवानी, भण्डारण, बीउ र उपकरणको व्यवस्था गर्दै आएको बताउनुभयो। उनका अनुसार ७० प्रतिशत अनुदानमा टिलर र ई–लोडर वितरण, ५० प्रतिशतमा बीउ तथा खाद्य भण्डारण गोदाम निर्माण, र ११ जना कृषकलाई ई–लोडर वितरण गरिएको छ।

त्यसैगरी, आकस्मिक अवस्थाका लागि ‘कृषि एम्बुलेन्स’ सेवा पनि सञ्चालनमा ल्याइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button