तपाईँ सुन्दै हुनुहुन्छः

डोल्पामा बाढीले ३ घर पुर्‍यो

डोल्पा । अविरल वर्षाले डोल्पामा ठुलो क्षति गरेको छ । बिहीबार राती परेको बर्षाले आएको पहिरोले काइके गाउँपालिका–४ स्थित रिवा गाउँमा ३ घर पुरिएका छन् । गए राति साँढे १२ बजेतिर बस्तीभन्दा माथिबाट लेदोसहितको पहिरो खस्दा ३ घर पुरिएका हुन् । 

क्षतिको स्थलगत रुपमा अध्ययन गर्न काइके गाउँपालिका अध्यक्ष अंगद कुमार रानासहितको टोली प्रभावित क्षेत्रमा पुगेको छ । पहिरोका कारण ३ घर पुरिएर पूर्ण रूपमा क्षति भएको र १२ घरमा मध्यम क्षति पुगेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक रुक बहादुर खड्काले जानकारी दिए । 

काइके–४ को रिवा भन्ने बस्तीमा बस्तीभन्दा करिब ५ सय मिटर माथिबाट लेदोसहितको पहिरो आएको छ । मोटरबाटो खन्दा निस्किएको माटो र ढुङ्गासहितको लेदो बगेर बस्तीमा पस्दा ८ घर पुरिएको अनुमान गरिएको छ । 

घटनालगत्तै स्थानीय प्रहरी चौकी तथा जिल्ला सदरमुकाम दुनैबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा खटिएको छ । 

काइके गाउँपालिकाका अध्यक्ष अंगद कुमार राना प्रभावितहरूका लागि खाद्यान्न र बासको व्यवस्था मिलाउन घटनास्थलमा पुगेर तत्कालीन गर्न सकिने राहत व्यवस्थापन गर्ने काइके गाउँपालिका डोल्पाले जनएको छ । पहिरोका कारण अधिकांश घरहरू बस्न नमिल्ने भएका छन् भने घरभित्र लेदो पसेकाले स्थानीय बासिन्दा विस्थापित भएका छन् । पहिरो आउन सुरु भएसँगै स्थानीय भाग्न सफल भएकाले मानवीय क्षति भने भएको छैन । 

सदरमुकाम दुनैबाट करिब ६ देखि ७ घण्टाको पैदल दुरीमा रिवा गाउँ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button