तपाईँ सुन्दै हुनुहुन्छः

‘गणतन्त्रपछिका उपलब्धि जनतामाझ पुर्‍याउन नसक्दा काँग्रेस कमजोर भयो’

वीरगन्ज । नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि भएका उपलब्धिलाई जनताको माझमा पुर्‍याउन नसक्दा काँग्रेस कमजोर भएको बताउनुभएको छ । 

नेपाली काँग्रेस केन्द्रिय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज वीरगन्जमा आयोजित मधेश प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै कांग्रेस उपसभापति एवम् केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख समेत रहनुभएका खड्काले पार्टीले गरेका उपलब्धिमूलक कामलाई जनताको घरदैलोमा पुर्‍याउने काम प्रशिक्षक प्रशिक्षण कार्यक्रमले गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका खड्काले प्रशिक्षण कार्यक्रममा पार्टी र सरकारले गरेको कामका साथै मुलुकको बिकास र समृद्धिलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा गहन छलफल हुने बताउनुभयो । 

उहाँले स्वर्गीय गिरिजा प्रसाद कोइराला, कृष्ण प्रसाद भट्टराई, सुशील कोइराला र वर्तमान सभापति शेर बहादुर देउवाको नेतृत्वको सरकारको पालामा भएका गतिविधि काँग्रेसले गरेको काम उपलब्धिलाई जनता र मतदाताको माझमा पुर्‍याउन नसक्दा विपक्षीले भ्रम पैदा गरेको बताउनुभयो । 

कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिला मन्त्री एवं काँग्रेसका केन्द्रिय सदस्य अजय चौरसीयाले देशका सबै वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्न सरकारले संविधान संशोधनका लागि आवश्यक तयारी गरिरहेको बताउनुभयो । 

कार्यक्रममा काँग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले काँग्रेसले नेतृत्व गरेपछि मात्रै देशमा भएका परिवर्तनकारी आन्दोलन सफल भएको बताउँदै अव संविधान र लोकतन्त्रको संस्थागत विकास एवं मुलुकको समृद्धिका लागि काँग्रेसले अझ धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । 

नेपाली काँग्रेस मधेस प्रदेशका प्रशिक्षण विभाग प्रमुख एवं प्रदेशका उपसभापति चन्द्रशेखर यादवको अध्यक्षतामा सम्पन्न उद्घाटन शत्रमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल, पुर्वमन्त्रि सुरेन्द्र चौधरी, अनिल रुंगटा, प्रदेश सभापति कृष्ण यादव लगायत नेपाली काँग्रेस मधेस प्रदेशका ८ जिल्लाका पदाधिकारी, भातृ संस्थाका अध्यक्ष तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button