“मातृभाषामा पत्रकारिता गर्न निकै ठूलो चुनौती”

काठमाडौँ । मातृभाषा पत्रकारिता क्षेत्रमा कार्यरत पत्रकारहरूले मातृभाषामा पत्रकारिता गर्न निकै ठूलो चुनौती भाेग्दै आउनु परेको बताएका छन् ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजना र नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) संघीय समितिको संयोजनमा “सञ्चार माध्यममा मातृभाषा पत्रकारिताको अवस्था र चुनौती विषयक” अन्तरक्रिया कार्यक्रममा बोल्ने पत्रकारहरूले मातृभाषामा पत्रकारिता गर्न निकै ठूलो चुनौती र समस्या रहेकोले सहजिकरण गरिदिन प्रतिष्ठानलाई आग्रह गरेका छन् ।
कार्यक्रममा बोल्नुहुँदै सार्वजनिक सेवा प्रसारण संस्था नेपाल, सञ्चालक समितिका सदस्य अनिता गुरुङले रेडियो नेपाल र नेपाल टेलिभिजन अब सरकारको सञ्चारमाध्यम नभएर जनताको सञ्चार माध्यम भैसकेको र मातृभाषामा प्रसारण भइरहेको समाचार र कार्यक्रमलाई प्रभावकारी बनाउन पहल गरिरहेको बताउनुभएको छ ।
कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले आगामी दिनमा सार्वजनिक सेवा प्रसारण संस्था नेपालसँग मातृभाषा पत्रकारिता सम्बन्धी मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रतिष्ठानले मातृभाषामा पत्रकारिता गरिरहेकोहरूको समस्या समाधानका लागि प्रयास गर्ने पनि बताउनुभयो।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण, रेडियो नेपालका कार्यक्रम महाशाखा प्रमुख तारा प्रसाद वस्तीले “रेडियो नेपालको प्रसारणमा आदिवासी जनजातिले बोल्ने मातृभाषा वा राष्ट्रभाषाका समाचार तथा कार्यक्रम”, नेपाल टेलिभिजनका समाचार प्रमुख पुष्पहरी क्याम्पा राईले “मातृभाषा पत्रकारितामा नेपाल टेलिभिजनको भूमिका”, गोरखापत्र बहुभाषिक पृष्ठका संयोजक कुमार बिबेकानन्द मिश्रले “गोरखापत्रमा मातृभाषा पत्रकारिताको सुरुवात” र आदिवासी जनजाति पत्रकार महासङ्घ अध्यक्ष लक्की चौधरीले “मातृभाषा पत्रकारितामा फोनिजको भूमिका”बारे कार्यपत्र प्रस्तुत गरेको थियो ।
प्रस्तुत कार्यपत्रमाथि गोरखापत्रका पूर्व प्रधान सम्पादक पुष्करभक्त माथेमाले टिप्पणी गर्नुहुँदै निजी क्षेत्रमा मातृभाषा पत्रकारिताको अवस्थाबारे चर्चा कम भएपनि मातृभाषा पत्रकारिताको क्षेत्रमा चर्चा हुन थाल्नु राम्रो भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्