नरैनापुरमा लागुऔषध नियन्त्रण अभियान तीव्र, विद्यालयमै चेतनामूलक कार्यक्रम सञ्चालन
बाँके । बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले लागुऔषध नियन्त्रणका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभएको छ ।
मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रको आयोजनामा असार ६ गतेदेखि सुरु भएको अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सोमबार नरैनापुर–३ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा सम्पन्न भएको हो । कार्यक्रममा मदरसा र विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी चेतनामूलक सन्देश दिइएको थियो ।
कार्यक्रम समापन गर्दै अध्यक्ष शाहले लागुऔषधका कारण नरैनापुरमा गम्भीर समस्या देखिएको बताउँदै विद्यालयस्तरमै चेतना फैलाउन सके रोकथाम सहज हुने धारणा व्यक्त गर्नुभयो । उहाँले आगामी बजेटमा लागुऔषधविरुद्ध विशेष कार्यक्रमका लागि बजेट व्यवस्थापन गरिने जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी निरीक्षक सुशील केसीले लागुऔषध नियन्त्रण एकल निकायको काम नभई सामूहिक दायित्व भएको बताउँदै सबै पक्षको सहभागिता जरुरी रहेको औंल्याउनुभयो । साना बालबालिकालाई समेत लागुऔषध ओसारपसारमा प्रयोग गरिन थालेको अवस्था रहेको भन्दै आधारभूत तहमै चेतना फैलाउनु समयानुकूल कदम भएको उहाँको भनाइ थियो ।
वडा नं ३ का अध्यक्ष अजय मिश्रले सबै तह र क्षेत्रको सहकार्यमा मात्र लागुऔषधमुक्त समाज सम्भव हुने धारणा व्यक्त गर्नुभयो । वडा नं २ का सचिव लक्ष्मीकान्त मिश्रले परिवार र समुदायको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै आपराधिक नियन्त्रणमा प्रहरीको सक्रियता आवश्यक रहेको उल्लेख गर्नुभयो ।
वडा नं ६ का अध्यक्ष प्रेम मौर्यले लागुऔषध आपराधिक प्रवृत्तिको मूल कारणमध्ये एक भएको उल्लेख गर्दै यदि अहिले नियन्त्रण गर्न नसकिए आगामी १५ वर्षमा एक पुस्ता नै संकटमा पर्ने चेतावनी दिनुभयो ।
छ वटा मदरसा र विद्यालयमा सम्पन्न उक्त कार्यक्रमको सहजीकरणमा पत्रकार, सुरक्षाकर्मी, समाजसेवीलगायतको सहभागिता रहेको थियो । सहभागीहरूले यस्तो अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया राख्नुहोस्