मधेश प्रदेशमा माछाको उत्पादन ४.१३ प्रतिशतले वृद्धि

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा माछाको उत्पादन चालु आर्थिक वर्षमा ४.१३ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कको मधेश प्रदेशको आर्थिक गतिविधिको अर्धवार्षिक प्रतिवेदनमा उल्लेख रहेको छ ।
आर्थिक वर्ष २०८०/०८१ म २८ हजार ९ सय ३१ मेट्रिक टन उत्पादन भएकोमा चालु आर्थिक वर्षमा वृद्धि भएर ३० हजार १ सय २५ मेट्रिक टन पुगेको प्रतिवेदनमा उल्लेख रहेको छ । माछाको उत्पादन सबैभन्दा बढी सिरहा जिल्लामा भएको राष्ट्र बैङ्कको मधेश प्रदेशको आर्थिक प्रतिवेदनमा उल्लेख रहेको छ ।
जिल्लागत रुपमा सप्तरी जिल्लामा चालु आर्थिक वर्षमा ३ हजार २ सय ५० मेट्रिक टन माछा उत्पादन भएको छ भने गत वर्ष पनि सोही परिमाणमा उत्पादन भएका थिए । सिरहा जिल्लामा ६ हजार ६ सय ५० मेट्रिक टन माछा उत्पादन भएका थिए । गत वर्ष भन्दा यस वर्ष सिरहामा माछाको उत्पादन बढेको छ ।
धनुषामा माछाको उत्पादन यथावत् नै रहेको छ । धनुषामा चालु आर्थिक वर्षमा ३ हजार ५ सय १० मेट्रिक टन माछाको उत्पादन भएको छ । महोत्तरी जिल्लामा माछाको क्षेत्र विस्तार भएसँगै माछाको उत्पादन पनि बढेको छ । महोत्तरी जिल्लामा गत वर्ष २ हजार ४ सय ३२ मेट्रिक टन उत्पादन भएकोमा यस पटक वृद्धि भएर ३० हजार ११ मेट्रिक टन पुगेको छ ।
सर्लाही जिल्लामा माछाको उत्पादन थोरै मात्रामा भएपनि त्यसमा पनि घटेको छ । सर्लाही जिल्लामा गत वर्ष माछाको उत्पादन २ हजार ९ सय ९५ मेट्रिक टन भएकोमा चालु आर्थिक वर्षमा घटेर २ हजार ९ सय ९३ मेट्रिक टन भएको छ । रौतहट जिल्लामा सबैभन्दा कम माछाको उत्पादन हुने गरेको छ । रौतहटमा गत वर्ष २ हजार ३१ मेट्रिक टन भएकोमा यस आर्थिक वर्षमा वृद्धि भएर २ हजार ६ सय २ मेट्रिक टन पुगेको छ ।
बारा जिल्लामा गत आर्थिक वर्ष भन्दा यस वर्ष माछाको उत्पादनमा वृद्धि भएको छ । बारा जिल्लामा गत वर्ष ४ हजार ५ सय २५ मेट्रिक टन उत्पादन भएकोमा चालु आर्थिक वर्षमा वृद्धि भएर ४ हजार ६ सय २ मेट्रिक टन पुगेको छ । यसै गरि पर्सा जिल्लामा पनि थोरै मात्रामा भएपनि माछाको उत्पादनमा वृद्धि भएको राष्ट्र बैङ्कको आर्थिक प्रतिवेदनमा उल्लेख रहेको छ ।
पर्सा जिल्लामा गत वर्ष ३ हजार ५ सय २८ मेट्रिक टन उत्पादन भएकोमा चालु आर्थिक वर्षमा थोरै वृद्धि भएर ३ हजार ५ सय ३८ मेट्रिक टन पुगेको पनि प्रतिवेदनमा उल्लेख रहेको छ । पछिल्लो समयमा माछाको उत्पादन बढ्नुमा पोखरीको क्षेत्रफल विस्तार हुनु नै प्रमुख कारणको रुपमा रहेको विभिन्न जिल्लाका भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रहरूले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्