एसईईको नतिजा असारको तेस्रो सातासम्ममा सार्वजनिक गर्ने तयारी
भक्तपुर। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असारको तेस्रो सातासम्ममा सार्वजनिक गर्ने तयारी भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानो ठिमीका परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले एसईई परीक्षाको नतिजा प्रकाशनका लागि बिहानदेखि बेलुकासम्म तीव्र गतिमा काम भइरहेको बताउनुभयो ।
असारको तेस्रो सातासम्ममा नतिजाको अपेक्षा गर्न सकिन्छ भन्दै परीक्षा नियन्त्रक डा. भट्टराईले यसै दिन भनेर भन्न सक्ने अवस्था अहिले नरहेको बताउनुभयो ।
उत्तर पुस्तिका परीक्षण र सम्परीक्षणको काम सकिएर अहिले प्राप्ताङ्क इन्ट्री गर्ने काम भइरहेको भट्टराईले बताउनुभयो ।
इन्ट्री लगायतका प्रोसेसिङको लागि ३५ दिन लाग्ने भए पनि त्यस अघि काम सम्पन्न गर्ने गरी तयारी भइरहेको र उत्तर पुस्तिका परीक्षण कार्यमा भएको ३२ दिनको ढिलाइलाई १० देखि १६ दिनमा झार्ने प्रयास गरिरहेको परीक्षा नियन्त्रक डा. भट्टराईले जानकारी दिनुभयो ।
यसका लागि डबल सिफ्टमा काम गरिरहेको कार्यालयले जनाएको छ ।
असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी कार्यतालिका बने पनि गत चैतमा शिक्षकहरूले गरेको सडक आन्दोलनका कारण नतिजा प्रकाशनमा असर परेको हो ।
गत वर्ष २०८१ सालको चैत २० गतेदेखि २०८२ वैशाख १७ गतेसम्म शिक्षकहरूले काठमाडौँमा सडक आन्दोलन गरेका थिए ।
बोर्डले ढिलोमा असारको चौथो हप्ताभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य राखेको छ ।
गत २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।
प्रतिक्रिया राख्नुहोस्