तपाईँ सुन्दै हुनुहुन्छः

धर्मगुरुको साथमा सचेतना अभियान: जातीय विभेद र बालविवाह हटाउने प्रयास

बाजुरा । सुदूरपश्चिमका सीमित शहर बजार बाहेक गाउँमा अझै बाल विवाह रोकिएको छैन ।

जातीय विभेद कायमै छ भने छोरा र छोरी, महिला र पुरुषबीच कायम असमानता सामाजिक प्रथाजस्तै जीवित छ । यो समस्याबाट बाजुराको हिमाली गाउँपालिका पनि मुक्त छैन । हिमाली गाउँपालिका बाजुराका नौ वटा स्थानीय तहमध्येको एक हो । भौगोलिक बनावट र पहुँचका आधारमा यो गाउँपालिका जिल्लाकै सर्वाधिक विकट हो । विकास सुविधाले पनि यो गाउँ निकै पछाडि छ । भूगोलकै कारण ७ मध्ये ३ वटा वडामा अझै सडक पुग्न सकेको छैन ।

एक गाउँबाट अर्को गाउँ पुग्नै दिनभर लाग्छ । यो गाउँको विडम्बना धेरै छ । हिमाली गाउँमा बालविवाह, जातीय विभेद, लैङ्गिक असमानताजस्ता कुसंस्कार र कुप्रथा अझै व्याप्त छ । यस्ता समस्या समाधानको उपायसहित यतिबेला हिमाली गाउँपालिकाका विभिन्न क्षेत्रमा धर्मगुरुसहित सचेतना अभियान केन्द्रित भएको छ । गाउँ, टोल र विद्यालय केन्द्रित अभियान थालेको पालिका उपाध्यक्ष राजकला सार्कीले बताउनुभयो। पालिकाभित्रका ७ वटा वडा मध्ये ४, ५ र ६ वडामा जातीय विभेद बढी भेटिन्छ । अन्य वडामा बाल विवाहको समस्या छ । त्यो रोक्नकै लागि अभियान शुरु गरिएको उपाध्यक्ष सार्कीले जानकारी दिनुभयो।

 गाउँमा बालविवाह गर्ने, जातका आधारमा विभेद गर्ने कुमान्यता धर्ममै स्थापित छ भन्ने लगायत सोचलाई चिर्न धर्मगुरुलाई साथमा लिएर अभियानमा लागेको उपाध्यक्ष सार्कीको भनाइ छ।अभियानका लागि पालिकाको न्यायिक समितिले बजेट छुट्याइएको छ । उपाध्यक्ष सार्कीलाई ब्राह्मण समुदायका धर्मगुरुहरू हिरालाल कँडेल र नारायण पाध्यायले साथ दिएका छन् ।

कँडेल ५० वर्षदेखि धार्मिक प्रवचन र हिन्दू धर्म प्रचारमा सक्रिय छन् धर्मगुरुले नै सम्झाउँदा, उनीहरूले नै दलित बस्तीमा पुगेर सँगै खाना खाँदा, बस्दा केही फरक सन्देश जाने र स्थानीय सचेत हुने विश्वासका साथ अभियान थालिएको हो, धेरै राम्रो भयो उपाध्यक्ष सार्कीले भन्नुभयो ।

गाउँपालिकाले धर्मगुरुलाई नै गाउँका टोल बस्ती र विद्यालयमा लगेर जातीय विभेद र बालविवाहविरुद्ध सचेतना अभियान सञ्चालन गरेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button