तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाबाट १० करोडको अर्ग्यानिक खाद्यवस्तु निर्यात 

जुम्ला । चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाद्वारा जुम्लामा सञ्चालित चन्दननाथ अर्ग्यानिक मिनि मार्केटले करोडौँको रैथाने अन्नबाली विक्री गरेको छ ।

सहकारीका सदस्यहरूलाई कृषिमा आकर्षित गर्न बचतका रुपमा बाली खरिद गर्ने,बजारीकरणमा जोड दिने र उत्पादन बढाउने लक्ष्यले सञ्चालन गरिएको अर्ग्यानिक मिनि मार्केटले करोडौँको रैथाने अन्नबाली विक्री गरेको हो । 

२०६४ मै अर्ग्यानिक जिल्ला घोषणापछि जुम्लाको उत्पादनलाई रुचाउन थालिएको छ । घरमै थन्किने रैथाने उत्पादनलाई चन्दननाथ मिनि मार्केट सञ्चालनपछि बजारीकरणमा टेवा समेत पुगेको छ । चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले २०७४ फागुन महिनादेखि मिनि मार्केट मार्फत रैथाने वस्तुको लेवलिङ र प्याकेजिङ गरेर विक्री गर्न थालेको हो । मिनि मार्केटबाट प्राप्त २०७६ देखी हालसम्मको विवरण अनुसार १० करोड बराबरको सिमी,चामल,ओखर,भटमास,स्याउका चाना,चिनु कागुनो,गहत,जौको पिठो लगायतका वस्तु विक्री तथा निर्यात भएको छ । 

जुम्ला आउने पर्यटकदेखि यहाँ कार्यरत कर्मचारीहरू गृहजिल्ला फर्किदा जुम्लाको नासो स्वरूप अर्ग्यानिक खाद्य वस्तु खरिद गरेर लिने गरेका छन् । सबै वस्तु एकै ठाउँमा पाईने भएपछि पर्यटकलाई पनि राहत भएको छ । 

मिनि मार्केट सञ्चालन भएयता १० करोड बढीको अर्ग्यानिक खाद्य वस्तु विक्री भएको चन्दननाथ सहकारीका व्यवस्थापक ऋषिराम पाण्डे बताउनुहुन्छ । उहाँले भन्नुभयो,‘सहकारीमा २० हजार बढी सदस्य आबद्ध छन् । मिनि मार्केटमा सहकारी सदस्यको उत्पादन खरिद गर्छौ । उनीहरूले चाहेमा हातमै पैसा लिन्छन् । आवश्यक नपरे खरिद गरेको वस्तुको रुपैयाँ सदस्यको खातामा बचत हुन्छ । उत्पादनले बजार र मूल्य पाएपछि सहकारीका सदस्यहरु कृषिमा हौसिएका छन् । अहिले अन्य किसान पनि आफै वस्तु विक्री गर्न मिनि मार्केटमा आउँछन् । तर माग अनुसार अझै पुराउन सकिएको छैन ।’

हाल सहकारी मार्फत कालिकोट,नाग्म बजार,प्रदेश राजधानी सुर्खेत,सङ्घीय राजधानी काठमाडौँ लगायतका स्थानमा समेत अर्ग्यानिक मिनि मार्केट सञ्चालन भएको छ । यसले अर्ग्यानिक रैथाने बालीको बजारीकरणलाई थप विस्तार गरेको छ । भने हरेक राष्ट्रिय स्तरका कार्यक्रमहरूमा मायाको चिनोका रुपमा समेत पठाउने गरिएको छ । दशै तिहारका बेला पर्यटकको घुइँचो लाग्ने भएकाले सामान पुराउनै मुस्किल हुने गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button