तपाईँ सुन्दै हुनुहुन्छः

‘किसानसँग पालिका प्रमुख’ कार्यक्रमबाट बिपन्न किसान लाभान्वित

बाँके। बाँकेको बैजनाथ गाउँपालिका–६ मा सञ्चालित ‘किसानसँग पालिका प्रमुख’ कार्यक्रमले स्थानीय बिपन्न किसानमा आशा र आत्मनिर्भरताको भावना बढाएको छ। आर्थिक वर्ष २०८१/८२ को बजेटअनुसार गाउँपालिकाले कृषि र पशुपालनमा प्राथमिकता दिँदै कार्यक्रमलाई प्रभावकारी बनाएको अध्यक्ष प्रकाश बहादुर शाहीले जानकारी दिनुभयो।

कार्यक्रमअन्तर्गत पालिकाका आठै वडाबाट सिफारिस भएका बिपन्न परिवारलाई सात हप्ते ३६०० वटा लोकल जातका चल्ला पूर्ण अनुदानमा वितरण गरिएको छ। प्रति परिवार १० वटा चल्ला वितरण गरिएको हो। चिसापानीमा आयोजित कार्यक्रममा अध्यक्ष शाही, वडा नं. ६ का अध्यक्ष रुप बहादुर मल्ल र कार्यपालिका सदस्य रुपा थापाको उपस्थिति रहेको थियो।

यसै कार्यक्रममार्फत किसानहरूलाई धान रोप्ने तथा काट्ने मेसिन, पावर टिलर, हाते ट्र्याक्टर, ई-लोडिङ अटो, सिँचाइका लागि स्यालो ट्युबवेल र बाँधजस्ता उपकरणहरू वितरण गरिएको छ। साथै, धान, गहुँ र तरकारीका बीउहरू ५०% छुटमा उपलब्ध गराइएको छ।

गाउँपालिकाले स्थानीय खाद्य सुरक्षा बलियो बनाउने उद्देश्यले खाद्य गोदाम डिपोको निर्माण पनि गरिरहेको छ।

अपांगता भएका व्यक्तिलाई लक्षित गरी रामपुरमा आयोजित कार्यक्रममा माउ बाख्रा वितरण गरिएको छ। सो कार्यक्रम अपांगता सञ्जालको आयोजनामा र पालिकाको सहयोगमा सम्पन्न भएको हो। कार्यक्रममा अध्यक्ष शाही र उपाध्यक्ष निर्मला रोकायाको विशेष उपस्थिति रहेको थियो।

गाउँपालिकाले कृषि तथा सामाजिक समावेशी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ। अध्यक्ष शाहीका अनुसार अनुगमनपछि आवश्यकताका आधारमा अनुदान दिइने प्रणाली लागू गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button