तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेशमा बाघ मित्र अभियान सञ्चालनको तयारी

बारा । मधेस प्रदेशमा बाघ संरक्षणलाई बल पुर्‍याउन ‘बाघ मित्र अभियान’ सञ्चालनको तयारी तीव्र गतिमा अघि बढाइएको छ । 

पछिल्लो समय बाघको मृत्युदर बढ्दै गएको सन्दर्भमा यो अभियानको परिकल्पना गरिएको हो । विशेषतः पर्सा र बारा जिल्लामा गत वर्ष मात्र ६ वटा बाघ मरेपछि यस अभियानलाई बाघ दिवसका अवसरमा घोषणा गरिएको थियो । 

बाघ मित्र अभियानको मुख्य उद्देश्य मानिसलाई बाघबाट र बाघलाई मानिसबाट जोगाउनु रहेको पर्सा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिनुभयो । 

उहाँका अनुसार मानिसले बाघलाई शत्रुका रूपमा लिँदै विष हालेर मार्ने घटनाहरू बढ्न थालेपछि यो अभियान आवश्यक देखिएको हो । अभियान अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्ज तथा बारा, पर्सा, रौतहट र मकवानपुर जिल्लाका डिभिजन वन कार्यालयहरूले संयुक्त रूपमा प्रत्येक जिल्लाबाट १०÷१० जना ‘बाघ मित्र’ स्वयंसेवक छनोट गर्ने तयारी गरेका छन् ।

दीर्घकालीन लक्ष्य स्वरूप प्रत्येक घरमा एक जना बाघ मित्र स्वयंसेवक रहने गरी अभियान विस्तार गरिनेछ । हाल ‘बाघ मित्र’को छनोट प्रक्रिया, अधिकार र कर्तव्य, कार्यकाल तथा आचारसंहिता सम्बन्धी नीतिगत छलफल र गृहकार्य भइरहेको छ । दुई चरणको बैठक बाराको सिमरामा सम्पन्न भएको छ । जसमा पर्सा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडा, डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झा, डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमद, डिभिजन बन कार्यालय मकवानपुरका डिभिजनल बन अधिकृत राकेश प्रसाद चन्द्रवंशी, डिभिजन बन कार्यालय रौतहटका प्रतिनिधि, जेड.एस.एल.का प्रोग्राम अफिसर प्रचण्ड महर्जन , तराई मधेस भुपरिधि कार्यक्रमका क्लष्टर ईन्चार्ज प्रेम पौडेल ,डब्लु.डब्लु .एफ का वन्यजन्तु विज्ञ डा.शंशाक पौडेल लगायतको सहभागिता रहेको थियो । 

अभियानको सफलताका लागि स्पष्ट कार्यदिशा, नियमावली र स्थानीय सहभागिता सुनिश्चित गरिने वन विभाग स्रोतले बताएको छ । पर्सा राष्ट्रिय निकुञ्जको समन्वयमा अगाडि बढाइएको यो अभियानले वन्यजन्तु संरक्षणसँगै समुदाय र जनजिवनबीच सहअस्तित्वको सन्देश फैलाउने अपेक्षा गरिएको डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झाले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button