तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहसँग कार्यकारी अध्यक्ष विष्टको भेट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टबीच भेटवार्ता भएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्यमन्त्री शाह र कार्यकारी अध्यक्ष विष्टविच भेटघाट भएको हो । 

त्यस क्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष बिष्टले रेडियो नेपाल र नेपाल टेलिभिजनका प्रसारण क्षमता अभिवृद्धि, कार्यक्रम र धनगढीमा ब्युरो कार्यालय स्थापनाका लागि मुख्यमन्त्री शाहसँग आग्रह गर्नु भयो । यसैगरी कार्यकारी अध्यक्ष डा. बिष्टले प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापा र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीसँग भेटघाट गर्नुभयो । 

सो भेटघाटका क्रममा कार्यकारी अध्यक्ष बिष्टले सार्वजनिक सेवा प्रसारण मार्फत रहेका रेडियो नेपाल र नेपाल टेलिभिजनका लागि सुदूरपश्चिम प्रदेशका विभिन्न भेषभुषा, भाषा, कला संस्कृति झल्किने कार्यक्रमहरू सञ्चालनका लागि सुझाव दिनुभयो । उहाँले त्यसका लागि प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । कार्यकारी अध्यक्ष बिष्टले सार्वजनिक सेवा प्रसारणले प्रदेशका राजधानीमा ब्युरो कार्यालय स्थापना गर्ने नीति अनुरुप आवश्यक पूर्वाधारका संरचना उपलब्ध गराउन आग्रह गर्नुहुँदै त्यसका लागि आवश्यक उपकरण उपलब्ध गराउने बताउनु भयो । 

भेटघाटपछि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री शाहले सार्वजनिक प्रसारण सेवा नेपाल टेलिभिजन र रेडियो नेपाललाई प्रदेश सरकारको सदैव साथ र सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।  यस्तै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की र आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले टेलिभिजन र रेडियो मार्फत विभिन्न गतिविधिहरू तथा कार्यक्रम उत्पादन तथा प्रसारण गर्नका लागी सकिनेजति बजेट विनियोजन गरिने बताउनु भयो । सो भेटघाट कार्यक्रममा एनटिभी कोहलपुरका प्रमुख निराजन खनाल,  रेडियो नेपालका प्रतिनिधि जगत साउद लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button