तपाईँ सुन्दै हुनुहुन्छः

मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

खोटाङ । दिक्तेल बजारमा स्थापना गरिएको ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ का लागि आवश्यक भवन निर्माण गर्न नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु तीन करोड बजेट विनियोजन गरेको छ । 

विसं २०८० मा दिक्तेल बजारमा आयोजना गरिएको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी–२०८०’ का क्रममा बनाइएका क्यानभास चित्र राखेर दिक्तेलमा स्थापना गरिएको मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालयका लागि आवश्यक भवन निर्माण गर्न पर्यटन मन्त्रालयले बजेट उपलब्ध गराउने भएको हो । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विसं २०८० असोज–१७ गतेदेखि असोज–२० गतेसम्म मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरेको थियो । विभिन्न पर्यटकीय स्थलमा लगेर आयोजना गरिएको प्रत्यक्ष चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी ५० देशका ख्याति प्राप्त चित्रकारहरूले बनाएका तथा अन्य चित्रकारले तयार पारेका एक सय ८२ वटा क्यानभास चित्रलाई समावेश गरेर नगरपालिकाले दिक्तेलमा मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय स्थापना गरिएको हो । 

पर्यटन मन्त्रालयले मुन्दुम कला सङ्ग्रहालयका लागि भवन निर्माण गर्न आवश्यक बजेट उपलब्ध गराए लगत्तै नास्टका पूर्व उपकुलपति प्रा डा जीवराज पोखरेलले डिजाइनको काम सुरु गर्नुभएको जनाइएको छ । 

मन्त्रालयले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटबाट निर्माण गरिने मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवनमा अधिकतम बाँसका सामग्री प्रयोग गर्नेगरी डिजाइनको काम सुरु गरिएको नगरपालिकाका उपप्रमुख विशन राईले जानकारी दिनुभयो । 

नेपालसहित अष्ट्रेलिया, बङ्गलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनाम लगायतका ख्याति प्राप्त चित्रकारले क्यानभासमा उतारेका चित्रलाई सङ्कलन गरेर दिक्तेल बजारमा मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय स्थापना गरिएको छ । 

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित रत्नपार्कमा सञ्चालित सपिङ कम्प्लेक्सको पाँच वटा कोठामा क्यानभास चित्रहरू राखेर स्थापना गरिएको मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गत पुस–२९ गते औपचारिक रुपमा उद्घाटन गर्नुभएको थियो । 

सङ्ग्रहालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री पाण्डेले कला, साहित्य र मौलिक संस्कार र कृति संरक्षण तथा पर्यटन प्रवर्द्धनमा नगरपालिकाले सुरुवात गरेको काम प्रशंसनीय भएको प्रतिक्रिया दिनुभएको थियो । मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय उद्घाटन गरिए लगत्तै सर्वसाधारणका लागि विना शुल्क अवलोकनमा खुला गरिएको छ । 

संसारभर छरिएर रहेका खोटाङ्गे मनलाई एउटै थलोमा जोड्ने र चित्रकलाका माध्यमबाट खोटाङ र सिङ्गो नेपाललाई विश्वमाझ परिचय गराउँदै पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिमा जोड्ने लक्ष्यका साथ ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । 

“संसारभर छरिएर रहेका खोटाङ्गे मनलाई एउटै थलोमा जोड्ने काम गरेको छ । चित्रकलाको माध्यमबाट खोटाङ र सिङ्गो नेपाललाई विश्वमाझ परिचित गराउन सफल भएका छौँ”, उहाँले भन्नुभयो, “मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालयले पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिमा टेवा पुग्ने अपेक्षा गरेका छौँ । यसलाई थप प्रवद्र्धन गर्न सबैको सहयोग आवश्यक छ ।”

मुन्दुम चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी विश्वमा ख्यातिप्राप्त चित्रकारले बनाएका तथा अन्य चित्रकारहरूले तयार पारेका क्यानभास चित्रलाई समावेश गरेर नगरपालिकाले विसं २०८० फागुन–५ गतेदेखि १७ गतेसम्म नेपाल कला परिषद, बबरमहल, काठमाडौँमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी आयोजना गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक उद्घाटन गर्नुभएको चित्रकला प्रदर्शनीमा देशका उच्च पदस्थ व्यक्तिहरूले प्रत्यक्ष अवलोकन गर्नुभएको थियो । 

धनु आर्ट स्टुडियो काठमाडौँसँगको सहकार्यमा १३ दिनसम्म आयोजना गरिएको चित्रकला प्रदर्शनीको औपचारिक समापन तत्कालीन प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुभएको थियो । अमेरिकाकी चित्रकार एवम् प्रोफेसर जोय वल्फ, लातभियाकी चित्रकार आन्दा पैकाने, नेपाली चित्रकारहरू रतनकुमार राई, विजय थापालगायत ५० देशका ख्याति प्राप्त चित्रकारहरूलाई खोटाङमै बोलाएर जिल्लाका दशवटै स्थानीय तहका धार्मिक, ऐतिहासिक एवं पर्यटकीयस्थलहरु तथा धर्म, संस्कार, संस्कृति, परम्परा र स्थानीय रहनसहनलाई क्यानभासमा उतार्न लगाइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button