तपाईँ सुन्दै हुनुहुन्छः

‘समृद्धि र विकासको जगमा आगामी वर्षको बजेट निर्माण गर्छौं’

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समृद्धि र विकासलाई केन्द्रमा राखेर सरकारले ल्याएको नीति तथा कार्यक्रमको जगमा उभिएर बजेट निर्माण गरिने स्पष्ट पार्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजना तथा दायित्व अभियानको समन्वयमा सोमवार राप्ती उपत्यका देउखुरीमा आयोजित शासकीय सुधार, आर्थिक विकास र युवा उद्यमशीलता सम्बन्धी नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले वर्तमान नीति तथा कार्यक्रमले उठाएका प्राथमिकतालाई बजेटले सम्बोधन गर्ने बताउनुभयो ।

त्यसैगरी, मुख्यमन्त्री आचार्यले प्रदेशलाई सार्वभौम र अधिकारसम्पन्न बनाउने गरी संघीय तहमा सुझाव दिन आवश्यक रहेको धारणा राख्नुभयो । यातायात क्षेत्र प्रदेशको एकल सुचीमा परेपनि ट्राफिक जरिवानाको राजस्व प्रदेशमा दाखिला नहुने जस्ता व्यवहारिक समस्याको समाधानका लागि वातावरण तयार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रमुख सचिव बाबुराम अधिकारीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले लुम्बिनीमा स्रोत वृद्धिका लागि ध्यान दिइने बताउनुभयो ।

सो अवसरमा पूर्व अर्थ सचिव रामेश्वर खनालले कृषि, उद्योग, व्यापार, पर्यटन, नवीकरणीय ऊर्जा र खानीका क्षेत्रमा अपार सम्भावना रहेको उल्लेख गर्दै, सबल नीति कार्यान्वयनबाट लुम्बिनीलाई आर्थिक केन्द्र बनाउन सकिने बताउनुभयो ।

पूर्व सचिव कृष्ण ज्ञवालीले प्रदेश सुदृढ बनाउन सुशासन प्रवर्द्धनमा प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो । उहाँले विधि, विवेक र आचरणमा सुधार गर्दै सदाचारको अभ्यास आवश्यक रहेको बताउनुभयो ।

दायित्व अभियान अध्यक्ष डा. पुष्कर मल्लले उद्यम–केन्द्रित रोजगारी सिर्जनामा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव कविन्द्र नेपालले सार्वजनिक चासो र सरोकारका विषयहरूमा छलफल गर्दै परिमार्जन र सुझाव लिने गरी नीति संवादलाई चरणबद्ध रुपमा निरन्तरता दिइने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button