तपाईँ सुन्दै हुनुहुन्छः

मधेशमा दुर्घटना बढ्दै, १० महिनामा ४ सय २९ जनाको मृत्यु 

वीरगञ्ज । बढ्दो सवारी चापसँगै चालकको लापरवाहीका कारण मधेशमा सवारी दुर्घटना बढ्दै गएको छ । 

सवारी दुर्घटनामा चालू आर्थिक वर्ष २०८१/८२ को १० महिनामा ४ सय २९ जनाको मृत्यु भएको छ भने ५ हजार ९ सय ४६ वटा सवारी दुर्घटनामा ९ हजार ८ सय ५२ जना घाइते भएका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रमुख एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले मधेस प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी गरी आठ जिल्लामा चालू आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म सवारी दुर्घटनामा परी ४२९ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।  उहाँले सो अवधिमा सबैभन्दा बढी बारा जिल्लामा ७९ जनाको मृत्यु भएको बताउँदै बारा जिल्लामा भएका ९३६ वटा सवारी दुर्घटनामा परी ७९ जनाले ज्यान गुमाएको जानकारी दिनुभयो । 

सो अवधिमा मधेस प्रदेशको धनुषामा सबैभन्दा बढी १ हजार ६२५ वटा सवारी दुर्घटना हुँदा ६१ जनाको मृत्यु भएको छ ।

ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा चालू आर्थिक वर्ष २०८१/८२ को १० महिनामा मधेशका ८ जिल्लामा १ लाख ७२ हजार ३ सय ८ वटा सवारी साधन कारबाहीमा पर्दा १४ करोड २१ लाख १० हजार ३५८ रुपैयाँ जरिवाना असुल गरिएको प्रहरी उपरीक्षक सिलवालले बताउनुभयो ।

उहाँले सो अवधिमा २४ हजार ९९२ वटा सवारी साधनलाई  कारबाही गरी  सबैभन्दा बढी जरिवाना पर्साबाट २ करोड ३० लाख ५९ हजार ३५० असुल भएको बताउनुभयो । 

सिलवालले १० महीना अवधिमा आठ जिल्लामा सबैभन्दा बढी सवारी कारबाही सिराहामा भएको जानकारी दिँदै सिराहामा २६ हजार २३२ वटा सवारी साधनको कारबाहीबाट २ करोड १ लाख ९१ हजार जरिवाना असुल भएको बताउनुभयो । 

प्रहरी उपरीक्षक सिलवालले १० महीना अवधिमा १४ हजार ९ सय ९४ पटक जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको र त्यसबाट ८ लाख ८६ हजार ३५९ जना लाभान्वित भएको बताउनुभयो । 

उहाँले सवारी दुर्घटना न्यूनीकरणका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले आठवटै जिल्लामा ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउदै प्रविधिमैत्री बनाएर काम गर्दै आएको दाबी समेत गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button