बाजुरामा बाघ आतङ्क: एकै दिन मरे एक दर्जनभन्दा बढी भेडा

बाजुरा । बाजुरामा पछिल्लो समय बाघको आतङ्क बढेको छ।
जिल्लाको गौमुल गाउँपालिकास्थित दल्लेडीमा बाघको आक्रमणबाट एकै दिन १७ वटा भेडा बाख्रा मरेका छन् । आइतबार राती घर नजिकैको छानोको गोठबाट स्थानीय मदन बोहराका ५६ वटा भेडा बाख्रा मध्ये ११ भेडा बाघको आक्रमणबाट मरेका प्रहरीले जनाएको छ।
गाउँ नजिकैको दल्लेडी गोठ छानामा रहेका भेडा, बाख्रा बाघले आक्रमण गरी मारेको अवस्थामा फेला पारेको स्थानीय भरत बोहराले जानकारी दिनुभयो ।
बाघको आक्रमणबाट कतिपय भेडा मरेका, मरेका मध्ये पनि केही खाएर छोडेका र ५ वटा भेडा, बाख्रा घाइते अवस्थामा फेला पारेको उहाँले बताउनुभयो ।

किसानले गोठको छानामा बाधेर राखेका भेडा, बाख्रालाई आक्रमण गरि दर्जनभन्दा बढीको सङ्ख्यामा मर्दा करिब २ लाख ८० हजार बढीको नोक्सान भएको छ । दैनिक जीविकोपार्जन र आयस्रोतको रुपमा रहेका भेडा बाघको आक्रमणले मरेपछि पशुपालक कृषक निकै समस्यामा परेका पीडित मदन बोहराले बताउनुभयो ।
बाघको आतङ्कबाट स्थानीयका भेडा, बाख्रा मारेर ठुलो क्षति गर्न थालेपछि पछिल्लो समय भेडा व्यवसाय सङ्कटमा परेको छ । बाजुरामा बारम्बार बाघको आक्रमणले भेडा बाख्रा मर्न थालेपछि स्थानीयले ठुलो क्षति व्यहोर्नु परेको छ ।








प्रतिक्रिया राख्नुहोस्