विकासका काममा सबैले सहयोग गर्नुपर्नेमा जोड
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार विकास, जनताको जीवनस्तर उकास्नेलगायत काममा सरकारी, निजी क्षेत्रसहित सरोकार भएका सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
निर्माणको काम सरकारी कार्यालय र निर्माण व्यवसायीको मात्र नभएको बताउनुभयो । स्थानीयवासी र सरोकारवाला निकायको सकारात्मक सोच, निगरानी तथा भरोसाले पनि विकास निर्माणका काममा सहयोग पुग्ने बताउनुभयो ।
आज बिहान कर्णालीलाई लुम्बिनी र सुदूरपश्चिम प्रदेशसँग छोटो दूरीमा जोड्ने मूलपानी–रानीघाट–तेलपानी–भुरिगाउँ खण्डको सुरुआती बिन्दु वीरेन्द्रनगर–२ पलाटेमा मूलपानी–रानीघाट खण्डअन्तर्गत सात किलोमिटर सडकको स्तरोन्नति कार्यको शुभारम्भ गर्दै उहाँले पूर्वाधार विकासका काममा सरकारी निकाय र निर्माण व्यवसायीको मात्र जिम्मेवारी नहुने उल्लेख गर्नुभयो । उहाँले सबैको सहकार्य र समन्वयमा उपलब्धिमूलक काम गर्न सकिने धारणा राख्नुभयो ।
पूर्वाधार विकास निर्देशनालयले उक्त ठेक्का लगाएको थियो । यस सडकले पूर्णता पाएको खण्डमा बर्दिया र सुदूरपश्चिम प्रदेश जान बाँकेको कोहलपुर धाउनुपर्ने बाध्यता अन्त्य हुने मुख्यमन्त्रीले बताउनुभयो । “विकास यथाशीघ्र हुनुपर्छ, त्यसमा सबैको चासो हुनुपर्छ । रु ३२ करोडमा ठेक्का खोलिएकामा निर्माण व्यवसायीले रु १८ करोडमा उक्त ठेक्का लिएर कामको सुरुआत गरेको छ”, उहाँले भन्नुभयो ।
कर्णालीका पाँच जिल्लाले परापूर्वकालदेखि हिँड्ने बाटो रहेकाले यसको थप महत्त्व बढेको मुख्यमन्त्री कँडेलले बताउनुभयो । सडक निर्माणसँगै चितवनको देवघाटजस्तै रानीघाटलाई प्रवर्द्धन गर्न प्रदेश सरकारको सहयोग रहने उहाँले प्रतिबद्धता जनाउनुभयो । यो मार्ग सम्पन्न भएपछि बर्दियाबाट सुर्खेत आउनेजानेले दूरीका हिसाबले कम यात्रा गर्नुपर्ने जानकारी दिनुभयो ।
यो सडक कर्णालीको पर्यटन क्षेत्रका लागि मूल ढोका रहेको बताउँदै मुख्यमन्त्री कँडेलले निर्माण व्यवसायीलाई गुणस्तरीय र प्रभावकारी काम गर्न आग्रह गर्नुभयो । काम गर्ने क्रममा कुनै समस्या आएमा प्रदेश सरकारले सहजीकरण गर्ने उहाँले बताउनुभयो ।
निर्माण व्यवसायीले असार, साउनमा पनि काम गर्न सक्ने वातावरण बनाउनुपर्नेमा मुख्यमन्त्री कँडेलले जोड दिनुभयो । उहाँले भन्नुभयो, “प्राविधिक साथीहरूले गुणस्तरीय काममा विशेष ध्यान दिनुपर्छ । विकासले जनताका आर्थिक, सामाजिक, पर्यटकीयलगायत सबै क्षेत्रको समृद्धिमा सहयोग पुर्याउने भएकाले यसको महत्त्व छ । आज शिलान्यास गर्ने भोलिदेखि सुनसान हुने काम नगर्न निर्माण व्यवसायीलाई अनुरोध छ । गुणस्तरीय सडक निर्माण गर्नका लागि सबैले समन्वय र सहयोग गरौँ ।”
प्रतिक्रिया राख्नुहोस्