जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड टेम्केमैयुङको पोल्टामा
भोजपुर । १५ औँ भोजपुर जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि टेम्केमैयुङ गाउँपालिकाले जितेको छ ।
भोजपुर जिल्ला खेलकुद बिकास समितिको आयोजनामा जिल्ला पश्चिम टेम्केमैयुङ गाउँपालिका वडा नम्बर चार, नागीमा रहेको चण्डेश्वरी माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भएको प्रतियोगिता तर्फ सबै भन्दा बढी पदक ल्याएर गाउँपालिका पहिलो बनेको हो । २८ खेलमा भएको प्रतिस्पर्धामा कुल १० स्वर्ण, पाँच रजत, सात कास्य सहित टेम्केमैयुङ गाउँपालिका प्रथम बनेको आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगिता तर्फ छ स्वर्ण, आठ रजत, सात कास्य सहित जिल्लाको पूर्वी अरुण गाउँपालिका दोस्रो बनेको छ । जिल्लाको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिका पाँच स्वर्ण, पाँच रजत र दुई कास्य सहित तेस्रो बन्यो । पाँच स्वर्ण, चार रजत र चार कास्य सहित भोजपुर नगरपालिका चौथो भयो ।
यस्तै एक स्वर्ण, चार रजत र पाँच कास्य सहित उत्तरमा रहेको षडानन्द नगरपालिका पाँचौँ र एक स्वर्ण, दुई रजत र तीन कास्य सहित जिल्लाको दक्षिण हतुवागढी गाउँपालिकाले छैठौँ स्थान प्राप्त गरेको छ ।
दुई दिनसम्म सञ्चालित राष्ट्रपति रनिङ शिल्डको प्रतियोगिताका विजेताहरूलाई गाउँपालिका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमा देवी राई, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दावा शेर्पा लगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्