सुर्खेत विमानस्थल थप दुई दिन बन्द रहने

सुर्खेत । सुर्खेत विमानस्थलको रन–वे मर्मत गर्दा जमिनमुनि पानी फेला परेपछि थप दुई दिन बन्द हुने भएको छ ।
विमानस्थलको धावनमार्गमा चर्किएको भागभित्र पानी फेला परेपछि मर्मत कार्यका लागि थप दुई दिन लाग्ने भएको सुर्खेत विमानस्थल कार्यालयले जानकारी दिएको हो । यसअघि धावनमार्ग मर्मतका लागि मङ्गलवार र बुधबार पनि विमानस्थल बन्द गरिएको थियो ।
धावनमार्ग चर्किएको भाग निकाल्दा भित्र पानी जमेको फेला परेपछि थप दुई दिन मर्मत कार्यका लागि विमानस्थल बन्द गर्ने निर्णय गरिएको सुर्खेत विमानस्थल कार्यालयका प्रमुख हिराजन काफ्लेले बताउनुभयो । उहाँका अनुसार धावन मार्गको ०.२ तर्फ पटक–पटक चर्किन थालेपछि त्यसको दीर्घकालीन समाधान खोज्नका लागि मर्मतको काम थालिएको थियो ।
उत्तरतर्फको धावनमार्गमा जमिन भासिने र चर्किने समस्याले विमानको सेड्युल सार्नुपर्ने अवस्था यसअघि पनि आएको उहाँको भनाइ छ । अहिले पानी हटाउने र धावनमार्ग मर्मतको काम तीव्र रुपमा भइरहेको विमानस्थल प्रमुख काफ्लेले जनाउनु भयो ।
उहाँका अनुसार शनिबारदेखि पुनः नियमित उडान सुरु गर्ने लक्ष्य राखिएको छ । यता धावनमार्गमा देखिएको समस्या समाधान नहुँदा सुर्खेत विमानस्थलबाट सञ्चालन हुने हवाई उडान रोकिएका छन् । अहिले सुर्खेतमा हवाई सेवा अवरुद्ध हुँदा यात्रुहरू वैकल्पिक मार्ग रोज्न बाध्य भएका हुन् ।
बुद्ध र श्री एयरलायन्सले दैनिक सुर्खेत–काठमाडौँ रुटमा चार वटा उडान गर्दै आएका थिए । नियमित हवाई यात्रा गर्ने सर्वसाधारण, बिरामी, कर्मचारी, विद्यार्थी तथा व्यापारीलाई सेवा बन्द हुँदा सास्ती उठाउनु परेको छ ।
प्रतिक्रिया राख्नुहोस्