‘अलबिनो’ संक्रमित समस्यामा, अपाङ्गताको सूचीमा समावेश गर्न माग
नेपालगञ्ज । अलबिनो भएका व्यक्तिहरूलाई राज्यले अपाङ्गताको दर्जा दिए पनि अपाङ्गताको सूचीमा राखेको छैन । अल्बिनो भएका व्यक्तिहरू आत्मसम्मान र रोजगारीसँगै अपाङ्गताको सूचीमा आफूहरूलाई समावेश गरेर राज्यले विशेष सुविधा दिनुपर्ने बताउँछन् । अलबिनो एक प्रकारको अपाङ्गता हो । शरीरमा छालालाई प्राकृतिक रङ्ग र गुण दिने पदार्थको कमीले छाला र कपाल सेतै हुने समस्यालाई अलबिनो भनिन्छ ।

अलबिनो भएका व्यक्तिलाई घाममा हिँड्दा छाला पोल्ने, आँखा कम देख्ने लगायतका समस्याहरू हुन्छन् । जसले गर्दा उनीहरुलाई पढ्न, लेख्न तथा रोजगारीका लागि समेत समस्या हुने गरेको राष्ट्रिय अपाङ्ग अल्बिनो नेपालका केन्द्रिय अध्यक्ष टेकराज जैसी बताउनुहुन्छ । घाममा जाँदा गाह्रो हुने र दृष्टिमा पनि समस्या हुने अवस्थालाई समेत राज्यले विभेद गर्दा आफूहरू निकै दुःखी हुने अल्बिनो संक्रमितहरु बताउँछन् । अपाङ्गताको सूचीमा समावेश नगरेर अल्बिनो भएका व्यक्तिहरूमाथि अन्याय भएको दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ८ घर भई हाल नेपालगञ्ज बस्दै आउनुभएकी अल्बिनो प्रभावित भगवती भण्डारीको गुनासो छ ।
अल्बिनो भएका कारण छालाको सङ्क्रमणको जोखिम उच्च हुन्छ । यस्तो व्यक्तिहरू घाम भएको अवस्थामा हिँडडुल गर्न सक्दैनन् । घामले पोल्दा पनि आगोले पोलेको जस्तो हुने उनीहरू बताउँछन् । त्यसका लागि सनस्क्रिन क्रिम लगाउँदा सहज हुने भएकाले सरकारले आफूहरूलाई निःशुल्करुपमा उपलब्ध गराउनुपर्ने माग अल्बिनो प्रभावितहरूको छ । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ की कविता विश्वकर्मा आफूहरूलाई घाममा हिँडडुल गर्न अनिवार्यरुपमा सनस्क्रिन क्रिम लगाउनुपर्ने बाध्यता हुने हुँदा सरकारले निःशुल्क उपलब्ध गराउनुपर्ने माग गर्नुहुन्छ ।
अलबिनो संक्रमण सरुवा रोग होइन । यो एक प्रकारको रसायनको गडबडीले हुने वंशाणुगत समस्या हो । त्यसैले उनीहरुलाई विभेद गर्न नहुने चिकित्सकहरू बताउँछन् । भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ छाला रोग विशेषज्ञ डा. बद्री चापागाईँले अलबिनो प्रभावितहरूलाई हेयको दृष्टिकोणले नभई सम्मानित व्यवहार गर्नुपर्ने बताउनुहुन्छ । ‘यो वंशाणुगत समस्या हो, उहाँहरूलाई घाममा निकै गाह्रो हुन्छ, त्यसैले उहाँहरूको वृत्ति विकासमा विशेष ध्यान दिनुपर्दछ’ डा. चापागाईँले भन्नुभयो । नेपालमा करिब ८ देखि १० हजार जना अलबिनोबाट प्रभावित भएको अनुमान छ ।








प्रतिक्रिया राख्नुहोस्