तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभाले सातै प्रदेशमा समन्वय बैठक गर्ने 

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले यही जेठ ११ र १२ गते सात वटै प्रदेशका मुकाममा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेश सभाका सदस्यहरूसँग समन्वय बैठक गर्ने गरी समय निर्धारण गरिएको राष्ट्रिय सभामा जानकारी गराउनुभएको छ । 

file photo

सभाको आजको बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय सभा नियमावली अनुसार राष्ट्रिय सभाका सदस्यहरुले सम्बन्धित प्रदेश सभाका सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुखहरूसँग वर्षमा एकपटक विकास निर्माण, स्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन लगायतका विषयमा समन्वय बैठक गर्ने प्रावधान अनुसार कार्यक्रम निर्धारण गरिएको बताउनुभयो ।

अध्यक्ष दाहालले राष्ट्रिय सभाको सन्दर्भमा प्रथम पटक कार्यक्रम हुन गइरहेको र ऐतिहासिक कार्यक्रम पनि भएकाले सबै सदस्यहरुले सक्रियता पूर्वक आ–आफ्नो प्रदेशमा उपस्थित भई कार्यक्रमलाई सफल र उपलब्धिमूलक बनाउन योगदान गर्नुहुने विश्वास लिएको बताउनुभयो ।

उहाँले अन्तरक्रिया र छलफल मूलतः सङ्घीयता कार्यान्वयन, सङ्घीयता सबलीकरण साथै वित्तीय व्यवस्थापनसँग सम्बन्धित अन्तरसम्बन्ध र कार्यान्वयनका विषयहरूमा आधारित रहने जानकारी सभामा गराउनुभयो ।

अध्यक्ष दाहालले विधायकी अन्तरसम्बन्ध र सङ्घीयता कार्यान्वयन अन्तर्गतका विषयहरू, वित्तीय सङ्घीयताका विविध पक्ष अन्तर्गतका विषयहरू, सार्वजनिक सेवा र विकास व्यवस्थापन अन्तर्गतका विषयहरू गरि तीनवटा शीर्षकहरू समन्वय बैठकका लागि निर्धारण गरिएको जानकारी गराउनुभयो ।

उक्त छलफल र अन्तरक्रियामा उजार भएका विषयहरू र समस्या समाधानका सुझावसमेत समावेश गरी प्रतिवेदन राष्ट्रिय सभामा पेश गरिने र कार्यान्वयनका लागि सरकारका निकायमा पठाइने जानकारी समेत अध्यक्ष दाहालले सभामा गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button