तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा मदरसा शिक्षाको अनुगमन सुरु

बाँके। लुम्बिनी प्रदेश स्तरीय मदरसा शिक्षा व्यवस्थापन समन्वय समितिले बाँके जिल्लाका मदरसाहरुको अनुगमन कार्य सुरु गरेको छ।

समितिका सदस्य सगिर खानले आइतबार डुडुवा गाउँपालिका–४ स्थित सुन्नत दारुल उलुम मदरसाको अनुगमन गर्दै कक्षाकोठामा भइरहेको शिक्षण–सिकाइ प्रक्रियाबारे शिक्षक र विद्यार्थीहरूसँग अन्तर्क्रिया गरेका हुन्।

उनले मदरसा शिक्षामा सुधार ल्याउन समितिले अनुगमन प्रक्रिया अघि बढाएको जानकारी दिए। शिक्षक, विद्यार्थी र अभिभावकबीचको समन्वय मजबुत बनाउन समितिले विशेष ध्यान दिएको उनले बताए।

खानले शिक्षण–सिकाइ प्रक्रियामा देखिएका कमजोरीहरू सुधार गर्न र प्रविधिको उपलब्धता, सिकाइको पद्धति तथा त्रिपक्षीय समन्वयबारे पनि मूल्यांकन भइरहेको बताए।

उनले भने, “मदरसा शिक्षालाई सुधार गरेर शिक्षण–सिकाइ प्रणालीलाई सशक्त बनाउने हाम्रो लक्ष्य हो। अनुगमनपछि देखिएका कमजोरी तुरुन्त सच्याइनेछ।”

खानले मदरसाका मौलाना र विद्यार्थीहरूलाई पनि सरकारी सरह सेवा सुविधा उपलब्ध गराइनु पर्ने उल्लेख गर्दै, भौतिक संरचना अभाव भएका मदरसाहरुको अनुगमनपछि प्रतिवेदन तयार गरी सरकारसमक्ष बुझाइने जानकारी दिए।

उनका अनुसार आगामी आर्थिक वर्षमा मदरसाको भौतिक संरचना निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले विशेष बजेट व्यवस्था गर्ने तयारी समेत गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button