तपाईँ सुन्दै हुनुहुन्छः

विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण

सप्तरी । लकडाउनले समस्यामा परेका राजविराजका मजदूर, गरिब, विपन्नको घरघरमा आज मारवाडी सेवा समितिले खाद्यान्न सामाग्री पुर्याएको छ ।

लकडाउनले समस्यामा परेका दैनिक ज्यालादारी गर्ने मजदूर, गरिब विपन्न र अलपत्र परेकाका घरमै पुगेर समितिले चामल, दाल, खानेतेल, आलु र नुन वितरण गरेको हो ।

ज्याला मजदूरी गर्न नपाएर भोकै परेका श्रमिक, विपन्नलाई नागरिक समाज, मारवाडी युवा मञ्च, इन्सेक, राजविराज जेसिजको सहयोगमा आजदेखि खाद्यान्न सामग्री वितरण शुरु गरिएको हो ।

प्रतिपरिवारलाई १० किलो चामल, दुई÷दुई किलो दाल र आलु, एक लिटर खाने तेल र एक किलो नुनको पोका वितरण गर्न अधिकारकर्मी र सामाजिक कार्यकर्ताको सहयोग लिइएको समितिका अध्यक्ष सुरेश रुङ्गटाले जानकारी दिनुभयो ।

कोरोना भाइरस र लकडाउनले प्रभावित श्रमिक, गरिब किसान, विपन्नको तथ्याङ्क सङ्कलन नसकिएकाले स्थानीय तहले राहत वितरण गर्न नसेकेको बेला मनकारी केही व्यक्ति र संस्थाले भने राहत वितरण गर्न थालेका हुन् ।

मारवाडी सेवा समिति, बोदे बरसाइन नगर व्यापार समिति, राजविराजका वडा नं ५ र ८ तथा कञ्चनरुप वडा नं १२ का युवा, इन्सेक, लायन्स क्लब, राजविराज जेसिज, राजविराज–९ का जवाहर यादव, सुरुङ्गा–५ का जनकदेव साह, राजविराज–६ का शैलेश चौधरी, राजविराज–७ का सुभाष भन्सालीलगायतले छाक टार्न गाह्रो भई भोकभोकै बस्न बाध्य विपन्न तथा गरिब परिवारलाई राहत वितरण गर्न थालेका छन् ।

मारवाडी सेवा समितिले तत्काल जोखिममा परेका एक सयजना गरिब तथा विपन्नलाई राहत बाँड्ने जनाएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button