राष्ट्रपति भण्डारीद्वारा बिभिन्न मुलुकमा रहेका नेपालीको अवस्थाबारे चासो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीट्जरल्याण्ड, इटाली, सानमारिनो तथा लिचेस्टाइनमा कोरोना भाइरसको संक्रमणको स्थिति र ती मुलुकहरूमा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे चासो र चिन्ता व्यक्त गर्दै जानकारी लिनु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार नेपाली राजदूतावास र स्थायी नियोग, जेनेभा, स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराईलाई टेलिफोन सम्पर्क गरी जानकारी लिनु भएको नेपाली दुतावास जेनेभाले जनाएको छ ।
राष्ट्रपति भण्डारीले कोरोना संक्रमण रोकथाम तथा सुरक्षा सम्बन्धमा आफू बसेको मुलुकको सम्बन्धित निकायबाट जारी गरिएका निर्देशनहरु तथा चालिएका कदमहरु अनुसरण गर्न, तथा आफू र आफ्नो परिवार सुरक्षित रहन भन्नु भएको छ ।
राष्ट्रपति भण्डारीले वर्तमान कठीन घडीमा धैर्यता एवं संयमता अपनाउन आग्रह गर्दै नेपाली संघ संस्था एवं समुदायको समन्वयमा अप्ठ्यारोमा परेका नेपाली नागरिकहरुलाई सम्भव भएसम्मको सहयोग गर्न राजदुत भट्टराइृलाई निर्देशन दिनुभएको हो ।
टेलिफोन कुराकानीको क्रममा राष्ट्रपति भण्डारीलाई स्वीट्जरल्याण्ड, इटाली, सानमारिनो तथा लिचेस्टाइनमा रहेका नेपालीहरुको अवस्थाबारे राजदूत भट्टराईले अवगत गराउनुका साथै कोरोना भाइरसको संक्रमणबाट नेपाली नागरिकहरूमा उत्पन्न कठिनाईका विषयमा सम्माननीय राष्ट्रपतिज्यूबाट व्यक्त चासो एवं चिन्ताप्रति आभार प्रकट गर्नुभएको नेपाली राजदूतावास र स्थायी नियोग जेनेभा, स्वीट्जरल्याण्डले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्