कोहलपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

बाँके । बाँकेको कोहलपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगरपालिकाका सबै बालबालिकाले पूर्ण खोप लगाएपछि कोहलपुर नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा भएको हो ।
वार्षिक रुपमा पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने कार्यक्रम अन्तर्गत यसवर्ष पनि घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।
आज मङ्गलवार एक कार्यक्रमका बीच नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर नगरपालिकालाई पूर्ण खोप घोषणा गर्नु भयो । उहाँले बालबालिकालाई रोगबाट बच्नका लागि खोप अति आवश्यक भएकाले खोप लगाउनबाट कुनै पनि बालबालिका छुट्न नहुने जिकिर गर्नु भयो ।
जिल्ला समन्वय समिति बाँकेका उप प्रमुख सीता कार्कीले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि स्वास्थ्यकर्मीहरुले उल्लेख्य भूमिका निर्वाह गरेको उल्लेख गर्दै भन्नुभयो, सङ्क्रामक रोगबाट बालबालिकालाई सुरक्षित राख्न खोप अनिवार्य रहेको छ ।
स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेश श्रेष्ठले कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नहुनेमा आफूहरू सजग रहेको बताउनु भयो । कोहलपुर नगरपालिका अन्तर्गत जन्मेदेखि ११ महिनाका एक हजार नौ सय १२ जना बालबालिकाले नियमित रुपमा पूर्ण खोप लगाएपछि शतप्रतिशत पूर्ण खोप सुनिश्चितता भएको स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले जानकारी दिनुभयो ।
पूर्ण खोप सुनिश्चितताका लागि गरिएको घरधुरी सर्वेक्षणमा १६ महिनादेखि ५९ महिनासम्मका तीन हजार नौ सय ९१ जनाले समेत सबै खोप लगाएको स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले बताउनु भयो ।
सर्वेक्षणका क्रममा १६ देखि ५९ महिनासम्मका ३९ जनाले खोप लगाउन छुटेका पाइएपछि उनीहरुलाई पनि खोप लगाइएको ठकुरीले जानकारी गराउनु भएको थियो ।
उक्त कार्यक्रममा जिल्ला खोप समन्वय समितिले कोहलपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणाको प्रमाणपत्र प्रदान गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्