ऐतिहासिक तथा धार्मिक महत्वको दुग्धमतिको संरक्षण कार्य चाडै अगाडि बढाइने

जनकपुरधाम । ऐतिहासिक तथा धार्मिक महत्वको दुग्धमतिको संरक्षणमा ढिलाई भएका कारणले विभिन्न मेला तथा महोत्सवमा भक्तजनहरू फोहर पानीमा नुहाउनका लागि विवश रहेका छन् । कुनै वेला दुग्ध जस्तो सफा र निर्मल जल रहेका दुग्धमतिमा पानीको बहाव नै नभएपछि फोहर बन्दै गएको हो ।
धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकामा उद्गम स्थल भएको ऐतिहासिक महत्वको दुग्धमतिमा अतिक्रमण बढेका कारणले पानी सुकेपछि भक्तजनहरू नदिमा तटबन्ध लगाएर रोकिएको फोहर पानीमा नुहानका लागि विवश रहेका छन् । धार्मिक आस्था र विश्वासका कारणले सोही पानीमा नै भक्तजनहरू नुहाउनका लागि विवश रहेका छन् ।
धनुषा तथा महोत्तरी जिल्लाका २९ किलोमिटरमा फैलिएको दुग्धमतिको अतिक्रमण हटाउनका लागि मधेश प्रदेश सरकारको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले डिपिआर सहित नाप नक्सा गर्ने काम सम्पन्न गरेर संरक्षणको काम चाडै अगाडी बढाउने जनाएको छ ।
दुग्धमतिको कूल लम्बाई मध्ये साढे ६ किलोमिटर पूर्ण रुपमा हराएकाले त्यसको उत्खनन् गर्ने गरि प्रदेश सरकारले काम अगाडी बढाएको मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवले बताउनु भएको हो । मन्त्रालयले दुग्धमतिको संरक्षण सम्बन्धि कार्यविधि पनि बनाउने काम सम्पन्न गरेको छ ।
दुग्धमतिको ऐतिहासिक तथा धार्मिक महत्वलाई दृष्टिगत गरेर यसमा नियमित रुपमा पानीको बहाव हुने गरि उद्गम स्थलको अतिक्रमण हटाएर दुग्धमतिको दुवै तीर कालोपत्रे सडकको निर्माण गरेर कोरिडोरको रुपमा विकास गरिने भएको छ ।
दुग्धमति उकास तथा विकासका लागि कार्यविधि बनाउने काम भएको छ भने अबको केही दिनमा नै संरक्षणको काम शुरुआत गरिने मन्त्री यादवले बताउनु भयो । यसका साथै दुई सय मिटरमा तटबन्ध बनाएर दुग्धमतिको पानीबाट आसपासका खेतमा सिँचाइ सेवा दिने विषयमा पनि सरकार गम्भीर रहेको मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारको गौरवको योजनाको रुपमा दुग्धमतिको संरक्षण भएपछि विभिन्न धार्मिक पर्वमा स्नान गर्नका लागि पुग्ने भक्तजनहरूलाई ठूलो राहत मिल्ने भएको छ । धार्मिक विश्वासका अनुसार माता सीतालाई काम धेनुगाईले दूध खुवाउने क्रममा बगेको दुग्धको धारणले नै दुग्धमति नदी उत्पन्न भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्