प्रजनन स्वास्थ्यप्रति सचेत बन्दै मुस्लिम समुदायका महिलाहरू
बाँके। नेपालगन्ज उपमहानगरपालिका–१ मा आयोजित तालिममार्फत मुस्लिम समुदायका महिलाहरूले प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी पाएका छन्। तालिममा सहभागी नाज कुरैसीले अब स्वास्थ्यमा बेवास्ती गर्दा हुने असरबाट बच्न सकिने भन्दै खुसी व्यक्त गर्नुभयो।
अर्की सहभागी सानिया असरफियाले पहिले आफ्ना समस्याबारे लजाएर भन्न नसक्ने गरेको तर अब भने खुलेर बोल्न सकिने बताउनुभयो। उहाँले घर–परिवार र साथीहरूलाई पनि यस्ता जानकारी दिन सकिने बताउनुभयो।
मंगलबार सम्पन्न तालिमपछि सहभागी महिलाहरूले आगामी दिनमा पनि यस्ता कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। तालिममा १९ देखि ४० वर्ष उमेर समूहका ३० जना मुस्लिम महिलाहरू सहभागी थिए।
लुम्बिनी प्रदेशसभा सदस्य मिना श्रेष्ठको संयोजनमा तालिम सञ्चालन गरिएको हो। स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोग, जिल्ला स्वास्थ्य कार्यालय बाँकेको आयोजना र वडा नं. १ को समन्वयमा तालिम सञ्चालन गरिएको हो। सांसद श्रेष्ठले सबै महिलालाई प्रजनन स्वास्थ्यप्रति सचेत बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो।
प्रतिक्रिया राख्नुहोस्