कानुन कार्यान्वयनमा नचुक्न बाँके प्रहरीलाई एसपी घर्तिमगरको निर्देशन
बाँके ।बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामप्रसाद घर्तिमगरले कानुनको कार्यान्वयनमा नचुक्न र नझुक्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा सोमबार आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले अपराध अनुसन्धान र शान्ति सुरक्षाको काममा कठोर रूपमा कानुन पालन गर्न निर्देशन दिनुभयो। भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै बर्दीको इज्जत जोगाउन आग्रह गर्दै उहाँले प्रहरीलाई चुस्त र दुरुस्त भएर काम गर्न निर्देशन दिनुभयो।
उहाँले नेपाल प्रहरीका रणनीति, योजना र दृष्टिकोण तल्लो तहसम्म पुर्याउन सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो। संगठनका नीति गम्भीरतापूर्वक पालना गर्दै उच्च मनोबलका साथ काम गर्न निर्देशन दिँदै आचरण विपरीत कार्य गर्नेप्रति कारवाहीको चेतावनीसमेत दिनुभयो।
प्रहरी कार्यालयमा आउने सेवाग्राहीसँग मर्यादित व्यवहार गर्न आग्रह गर्दै उहाँले छिटोछरितो सेवा प्रवाहले प्रहरीप्रतिको जनदृष्टिकोण सकारात्मक हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक दीपक पातली र लक्ष्मी खनालले निर्देशनको पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। खनालले पेशागत क्षमता र लगनशीलताका साथ नयाँ चुनौतीको सामना गर्न प्रहरी तयार रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय, प्रहरी चौकीका प्रमुखहरू तथा अन्य प्रहरी कर्मचारीको सहभागिता थियो।
प्रतिक्रिया राख्नुहोस्