तपाईँ सुन्दै हुनुहुन्छः

नेतृत्व केवल सत्ताको कुर्सी होइन, जनतासँगको इमानदार सम्बन्ध हो: मन्त्री यादव

मोरङ। खानेपानीमन्त्री प्रदीप यादवले नेतृत्व केवल सत्ताको कुर्सी मात्र नभई नागरिकसँगको इमानदार सम्बन्ध पनि भएकाले जनताले प्रत्यक्ष अनुभूति गर्ने खालको विकास आफूले गर्दै आएको बताउनुभएको छ ।

आज मोरङ जिल्लामा रहेको रङ्गेली दोस्रो खानेपानी आयोजनाको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले सीमित स्रोत र साधनकाबीच उत्कृष्ट काम गर्नुपर्ने दायित्व आफूहरूमा रहेकाले तीनै तहका सरकारसँग समन्वय गरेर आफ्नो दायित्वलाई जिम्मेवारीपूर्वक ढङ्गले निर्वाह गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी नागरिकको सेवामा समर्पित छौँ । हाम्रो नेतृत्व केवल सत्ताको कुर्सी मात्र होइन, नागरिकसँगको इमानदार सम्बन्ध पनि हो । रङ्गेलीको माटोले विकासको सशक्त चाहना राखेको छ । यो आयोजनाको शिलान्यास त्यसै चाहना र सम्भावनाको मूर्त रूप हो ।”

यसैगरी उहाँले समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लिएको सामाजिक न्यायको मार्गदर्शनमा आज रङ्गेली दोस्रो खानेपानी आयोजना मार्फत एउटा नयाँ युगको सुरुवातको ढोका खोलिएको बताउनुभयो ।

समावेशी विकास र नागरिकको आधारभूत अधिकार सुनिश्चित गर्ने राष्ट्रिय लक्ष्यप्रति प्रतिबद्ध रही, देशैभर खानेपानी तथा सरसफाइका पूर्वाधार निर्माणमा तीव्रता दिई सरकारको ‘एक घर, एक धारा’ भन्ने लक्ष्यलाई अब सम्भावनाबाट यथार्थतर्फ डोर्‍याउन थालेको समेत मन्त्री यादवले जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामी नेपाली जनताका सेवक हौँ । जनताको खुशी नै सरकारको खुशी हो । नागरिकको आधारभूत अधिकार सुनिश्चित गर्न प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको यो सरकार पूर्ण प्रतिबद्ध रहेको छ । जनताले प्रत्यक्ष अनुभूति गर्ने खालको विकासको काम हामीले गरेर देखाउँदै छौँ ।”

सन् २०३० सम्म सबै नेपाली नागरिकलाई सुरक्षित खानेपानी र सरसफाइ सेवा उपलब्ध गराउने दिगो विकास लक्ष्य प्राप्तिका दिशामा सरकारले आफ्ना काम र योजनालाई अघि बढाइरहेको समेत उहाँले जानकारी गराउनुभयो ।

खानेपानीको समस्याका कारण रङ्गेलीका हजारौँ नागरिकहरूले दैनिक पानीको अभाव झेल्नु परिरहेको तथा उनीहरूका स्वास्थ्य, शिक्षा, र आर्थिक गतिविधिहरूमा समेत बाधा पुर्‍याएकाले रङ्गेली दोस्रो खानेपानी आयोजना सम्पन्न भएपश्चात् यहाँका नागरिकका खानेपानी लगायतका अन्य समस्या सबै समाधान हुने मन्त्री यादवले विश्वास व्यक्त गर्नुभयो ।

उक्त महत्वपूर्ण आयोजना सम्पन्न भएपश्चात् रङ्गेली नगरपालिकाको वडा न-२ )लक्ष्मीपुर, दौलतपुर) र वडा न-९(दोभान बजार र फर्साडाँगी) का कुल तीन हजार १६९ घरधुरीका नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यस खानेपानी योजनालाई गुणस्तर, समयसीमा र पारदर्शिताको मापदण्ड अनुसार प्रविधि मैत्री तरिकाले निर्माण कार्य अघि बढाइनेछ । निर्माण कार्यमा कुनै पनि प्रकारको लापरवाही हुनेछैन र आवश्यक प्राविधिक अनुगमन निरन्तर गरिनेछ ।”

उक्त आयोजनाबाट यहाँका महिला र बालबालिकाहरूलाई पानीको लागि लामो दूरी तय गर्ने बाध्यतालाई समाप्त गर्ने र सामुदायिक स्वास्थ्यमा सुधार ल्याएर पानीजन्य रोगको जोखिम न्युनिकरण गर्ने अपेक्षा लिइएको छ ।

रङ्गेली दोस्रो खानेपानी आयोजनाको सफल कार्यान्वयन पश्चात्, रङ्गेली नगर भविष्यमा स्वच्छ र सुरक्षित खानेपानीमा आत्मनिर्भर एक विकसित नगरका रूपमा परिचित हुने अपेक्षा गरिएको रङ्गेली नगरप्रमुख दिलीपकुमार अग्रवालले बताउनुभयो । उहाँले भन्नुभयो, “गुणस्तरीय पानीको पहुँचले नागरिकहरूको स्वास्थ्यमा सकारात्मक सुधार ल्याउनेछ । दीर्घकालमा उपचार तथा औषधोपचारमा लाग्ने खर्चमा उल्लेखनीय कमी आउने हामीले विश्वास लिएका छौँ ।”

आजको उक्त कार्यक्रममा रङ्गेली नगरपालिकाका उपप्रमुख भुमाकुमारी पराजुली, आयोजना प्रमुख सुरतलाल चौधरी, जग्गा दाता जनप्रिय मावि, तारा पोखरेल, जोसेफ सोरेन (वडा न-२), चिरञ्जीवी काफ्ले वडा न-९ लगायतका विभिन्न पार्टीका नेता एवं स्थानीयवासीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button