महिला राष्ट्रिय गोल्डकप फुटबल : सङ्कटाको सानदार जित
मकवानपुर । हेटौँडामा जारी महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा ए डिभिजन क्लब सङ्कटा सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। हेटौँडा–६ स्थित गौरीटार रङ्गशालामा शनिबार सम्पन्न खेलमा सङ्कटाले बाराको नव जनजागृति युवा क्लबलाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो।

सङ्कटाको जितमा ममता पुन मगरले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताकै पहिलो ह्याट्रिकसहित पाँच गोल गरिन्। उनले पहिलो हाफमै तीन गोल पूरा गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् भने दोस्रो हाफमा थप दुई गोल थपिन्। सङ्कटाका लागि जेलीफर राना मगरले अर्को एक गोल गर्दै टोलीको जित सुनिश्चित गरिन्।
बाराको तर्फबाट रोजिना लामाले एक मात्र सान्त्वना गोल फर्काइन्। उत्कृष्ट प्रदर्शन गरेकी ममता पुन मगर खेलको प्लेयर अफ दि म्याच घोषित भइन्। उनले पुरस्कार स्वरूप नगद १० हजार रुपैयाँ प्राप्त गरिन्।
प्रतियोगिता अन्तर्गत आइतबार नेपाल पुलिस क्लब र रौतहटको टिमबीच प्रतिस्पर्धा हुनेछ। मकवानपुर जिल्ला फुटबल सङ्घको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँसहित उपाधि पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल आगामी वैशाख २५ गतेका दिन हुनेछ।
प्रतिक्रिया राख्नुहोस्