बागलुङको काठेखोलमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत ७५ जनालाई रोजगारी

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत ७५ जनाले सय दिनको रोजगारी पाएका छन् । उनीहरूले वडा कार्यालयको साझेदारी बजेटमा सडक स्तरोन्नति गरेका छन् ।
चालु आर्थिक वर्षमा ८ ओटा सडक स्तरोन्नति तथा पदमार्ग निर्माण योजना सम्पन्न भइसकेको र अझै ८ ओटा योजना कार्यान्वयनको चरणमा रहेका छन् ।
जसमध्ये भिमापोखरा, बिहुँ, लेखानी, तंग्राम र पालामा वडा कार्यालयको बजेट समेत साझेदारी गरी सडक सोलिङ, ढलान तथा पदमार्ग निर्माण गरिएको हो ।
काठेखोला गाउँपालिकाका पाँच वटा वडाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत आउने ज्यालामा साझेदारी गरी नमूना रुपमा सडक ढलान समेत गरिएको छ ।
काठेखोला गाउँपालिका वडा नं. २ भिमापोखरामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमसँग साझेदारी गरी वडाले मात्रै २२ लाख रुपैयाँ खर्च गरेर सडक स्तरोन्नति गरिएको वडा अध्यक्ष विद्यापती शर्माले जानकारी दिनुभयो ।
वडा कार्यालयमा सूचीकृत १ सय ४६ जनामध्ये पहिलो चरणमा ९ जनालाई रोजगारी प्रदान गरिएकोमा साझेदारीमा थप मजदुर तथा सामाग्री खरिद गरेर तीन वटा सडक स्तरोन्नति गरिएको शर्माले बताउनुभयो ।
पधेरी–गैराथोक–चिप्लेभिर सडकमा ५ सय मिटर सडक सोलिङ, तल्लो भुदीखोला सम्मको १ सय १४ मिटर सडक ढलान तथा बायललाखुरी डाढाघर–डढेलाखोला सडकको १ सय ४ मिटर सडक वडा कार्यालयको २२ लाख लागत र प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको ६ लाख २६ हजार रुपैयाँमा सडक स्तरोन्नति गरिएको शर्माले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्