भारत–पाक तनावपछि दशगजा क्षेत्रमा सुरक्षा व्यवस्था कडा

जनकपुरधाम । भारत पाकिस्तानमा जारी रहेको तनावलाई मध्यनजर गरेर नेपाल–भारतको सीमा क्षेत्रमा सुरक्षा सतर्कता सहित चेक जाँच बढाउने काम भएको छ ।
भारत प्रशासित कश्मीरको पहलगाममा भएको घटना र त्यसपछिको दुई देशको बीचमा उत्पन्न भएको तनावलाई ध्यानमा राखेर नेपाल–भारतको सीमा दशगजामा सुरक्षा व्यवस्था कडा बनाउने काम भएको हो ।
नेपाल भारतको खुल्ला सीमानाका कारणले भारतमा हुन सक्ने घुसपैठलाई ध्यानमा राखेर नेपाली सुरक्षा अधिकारीहरूबाट सीमा वारपार गर्ने व्यक्ति माथि निगरानी बढाएको छ । शङ्कास्पद व्यक्तिको आइडी माग्ने तथा सोधपुछ गर्ने काम भइरहेको छ ।
यता भारतीय सीमा सुरक्षा अधिकारीहरुले पनि सीमा नाकामा कडाइका साथ चेकजाँच बढाउने काम गरेको छ । दुवै देशका सीमा खुल्ला भएकाले घुसपैठको सम्भावना भएको ठाउँमा रातिको समयमा पनि सीमा सुरक्षा बढाउने काम भएको छ ।

सीमाना क्षेत्र भएर जोसुकै व्यक्ति नेपालबाट भारत छिर्न सक्ने अवस्थालाई ध्यानमा राखेर मधेश प्रदेशका सीमाना क्षेत्रमा सुरक्षा जाँच बढाउने काम भएको छ । भारतसँग सीमाना जोडिएको पर्साको बीरगञ्ज, बारा, रौतहटको गौर, सर्लाहीको मलंगवा सहितका क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
यसै गरि महोत्तरीको भिठामोड, धनुषाको जटही, सिरहाको माडर तथा सप्तरीको कुनौली नाकामा सुरक्षा सतर्कता बढाउने काम भएको विभिन्न जिल्लाका प्रहरी कार्यालयहरूले जनाएको छ । नेपालको भूमि छिमेकी मित्र राष्ट्रको विरुद्धमा प्रयोग नहोस् भन्नका लागि सुरक्षा चेक जाँच बढाउने काम भएको सीमावर्ती क्षेत्रका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
कश्मीरको पहलगाम भएको आतङ्कवादी आक्रमणमा परेर १ जना नेपाली सुदिप न्यौपाने सहित २६ जना भारतीय गरेर २७ जनाको मृत्यु भएका थिए । त्यसपछि दुवै देशका बीचमा तनावको अवस्था रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्