राष्ट्रपति पौडेल र युएईका उपप्रधानमन्त्री नाह्यानबीच शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्स (युएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले शिष्टाचार भेट गर्नुभएको छ । मङ्गलवारदेखि नेपालको दुई दिने औपचारिक भ्रमणमा रहनुभएका युएईका उपप्रधानमन्त्री नाह्यानले राष्ट्रपति भवन शीतल निवासमा बुधबार भेट गर्नुभएको हो ।
भेटमा राष्ट्रपति पौडेलले विश्वका सबै देशहरूलाई जलवायु परिवर्तन विरुद्धको कार्यलाई तीव्र बनाउन आग्रह गर्दै श्रोत साधन आवश्यक भएका देशहरूलाई जलवायु परिवर्तन र यसबाट सिर्जित क्षतिपूर्तिका लागि प्राविधिक र आर्थिक सहयोग प्रदान गर्न समेत अनुरोध गर्नुभयो ।
उहाँले विश्व मञ्चहरूमा जलवायु न्यायका लागि आफूले आवाज उठाउँदै आएको र नेपाल जलवायु परिवर्तनको मारमा परिरहेको बताउँदै नेपाल र संयुक्त अरब इमिरेट्सले पहाडी र तटीय मुलुकहरूको रूपमा जलवायु परिवर्तनको प्रतिकूल प्रभावको साझा जोखिमको सामना गरिरहेको र जलवायु परिवर्तनबाट सिर्जित विपद्ले हाम्रो दुर्लभ श्रोत साधनलाई प्रतिकुलता प्रदान गरेको उल्लेख गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
राष्ट्रपति पौडेलले संयुक्त अरब इमिरेट्समा ४ लाख भन्दा बढी नेपालीहरूलाई रोजगारीको अवसर प्रदान गरेको धन्यवाद दिँदै भन्नुभयो–‘ संयुक्त अरब इमिरेट्स ४ लाख भन्दा बढी नेपालीहरूको लागि दोस्रो घरको रुपमा रहेको छ । उनीहरूले दुई देश बीच जनस्तरको सम्बन्ध विस्तारका लागि जीवित पुलको रूपमा पनि काम गरिरहेका छन् । तपाईँको सुन्दर देशमा यति ठूलो सङ्ख्यामा नेपालीहरूलाई रोजगारीको अवसर प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद ।’

संयुक्त अरब इमिरेट्स नेपालको चौथो ठूलो व्यापारिक साझेदार देश भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो–‘हाम्रो द्विपक्षीय व्यापार अभिवृद्धि गर्न सकिने ठूलो सम्भावनामा नीजि क्षेत्रको संलग्नतालाई हामीहरुले प्रोत्साहित गर्नुपर्छ । संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरूलाई कृषि, खानी, जलविद्युत, पूर्वाधार विकास, पर्यटन र आतिथ्य, सूचना प्रविधि र सेवा क्षेत्र जस्ता सम्भाव्य क्षेत्रहरूमा लगानी गर्न प्रोत्साहित गरिदिन अनुरोध गर्दछु ।’
उहाँले गत महिना रमजानको पवित्र महिना र इदको पर्वको पावन अवसरमा १८ जना नेपाली कैदीहरूलाई आममाफी दिने र रिहा गर्ने संयुक्त अरब इमिरेट्सको मैत्रीपूर्ण कदमको उच्च कदर गर्दै उक्त मानवीय कदमका लागि कृतज्ञता पनि व्यक्त गर्नुभयो ।
सो अवसरमा ९युएई०का उपप्रधानमन्त्री नाह्यानले जलवायु न्यायका सम्बन्धमा राष्ट्रपति पौडेलको भनाइको उच्च कदर गर्दै तथा ती भावनालाई मार्गदर्शनका रुपमा लिने बताउनुभयो । ‘जलवायु परिवर्तनका क्षेत्रका कार्यलाई कठिनाइ भइरहेको छ । तर यो मानव सिर्जित समस्या हो र हामीले भावी सन्ततिलाई सुन्दर विश्व हस्तान्तरण गर्नैपर्छ’, नाह्यानको भनाई उदृत गर्दै सल्लाहकार पोखरेलले बताउनुभयो । उहाँले नेपाल र युएईबिच सहकार्यका धेरै सम्भावनाहरू रहेकाले यसका लागि प्रयत्नहरू जारी राख्नुपर्ने बताउँदै भन्नुभयो–‘नेपाल र युएईबीचको सम्बन्धलाई उचाइमा पुर्याउने र प्रगाढ बनाउने प्रचुर सम्भावना छ । यसका लागि म युएई सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्दछु ।’








प्रतिक्रिया राख्नुहोस्