तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजलाई थप सुरक्षित बनाउन सि.सि. क्यामेरा विस्तार 

वीरगंज । वीरगंज महानगर क्षेत्रलाई थप सुरक्षित र व्यवस्थित बनाउन सि.सि.टिभी क्यामेरा सञ्जाल विस्तार गरिने भएको छ । 

सि.सि.टिभी क्यामेरा सञ्जाल विस्तारका लागि महानगरपालिकाको पहलमा विभिन्न बैङ्कहरूले आज १७ लाख ७५ हजार रुपैयाँ उपलब्ध गराएका छन् । 

वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सुरक्षित वीरगंज बनाउने अभियानमा सहकार्य गर्न बैङ्क तथा वित्तीय संस्थाहरूलाई गर्नु भएको आह्वान अनुरुप बैङ्कहरूले उक्त सहयोग उपलब्ध गराएका हुन् । 

बैंकर्स एसोसिएसन पर्साका संयोजक रोहिणी आचार्यको नेतृत्वमा यहाँ सञ्चालित बैङ्कहरूलाई वीरगंज सुरक्षित बनाउने अभियानमा सिसि क्यामेरा विस्तारका लागि सहयोग उपलब्ध गराउन आग्रह गरिएको थियो ।  

वीरगन्ज महानगरपालिकाको पहल एवं सेफर वीरगंज र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा सङ्कलित रकमबाट वीरगंजका विभिन्न स्थानमा थप नयाँ क्यामेरा जडान गरिने महानगर प्रमुख सिंहले जानकारी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले अपराध नियन्त्रणमा सिसि क्यामेराको उल्लेखनीय सहयोग रहने भएकाले महानगरका हरेक चोक तथा सडकमा सञ्जाल विस्तार गर्नु आवश्यक रहेको बताउनुभयो । 

क्यामेरा सञ्जाल विस्तारका लागि सहयोग उपलब्ध गराउने बैङ्कहरू धन्यवादको पात्र रहेको भन्दै यो कार्यमा सबै सरोकारवालाहरूको सहयोग आवश्यक रहेको बताउनुभयो ।  

सिसि क्यामेरा सञ्जाल विस्तारका लागि विभिन्न १६ वटा बैंकले सहयोग उपलब्ध गराएको र बाँकी बैङ्कहरूबाट पनि चाँडै सहयोग उपलब्ध हुने बैंकर्स एसोसिएसन पर्साका संयोजक रोहिणी आचार्यले जानकारी दिनुभयो । 

सबैभन्दा बढी नबिल बैंकले ३ लाख रुपैयाँ सहयोग गरेको उपलब्ध गराएको छ । सोमबार एक कार्यक्रमकाबीच बैङ्कहरूले उपलब्ध गराएको सहयोग महानगर प्रमुखको रोहबरमा सेफर वीरगंजलाई हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button