बन्द प्रशिक्षणमा ४२ खेलाडीलाई बोलाइयो
काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ च्याम्पियनसिपका लागि नेपाली फुटबल टोलीको बन्द प्रशिक्षणमा ४२ खेलाडीलाई बोलाइएको छ ।
मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बुधबार छनोट चरणमा बोलाइएका ५८ मध्येबाट ४२ खेलाडीलाई बन्द प्रशिक्षणमा समावेश गर्नुभएको हो ।
छनोट प्रक्रिया आइतबार, सोमबार र मङ्गलवार चलेको थियो । बन्द प्रशिक्षणमा परेका खेलाडीलाई आइतबारसम्म सातदोबाटोस्थित मुख्यालयमा सम्पर्क गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आग्रह गरेको छ ।
साफ यु–१९ च्याम्पियनसिप मे ९ देखि १८ सम्म भारतको अरुणाञ्चल प्रदेशको गोल्डेन जुब्ली रङ्गशालामा हुनेछ ।
समूह ‘बी’ को नेपालले मे ११ मा श्रीलङ्कासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । त्यसको दुई दिनपछि नेपालले घरेलु टोली भारतसँग खेल्नेछ । नेपालले उमेर समूहको यो प्रतियोगितामा दुई पटक उपाधि जितेको छ ।
२०१५ मा घरेलु भूमिमा भएको च्याम्पियनसिपमा नेपालले भारतलाई पेनाल्टी सुट आउटमा हराउँदै पहिलो संस्करणको उपाधि जितेको थियो ।
दुई वर्षपछि भुटानमा सम्पन्न दोस्रो संस्करणमा नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको थियो । त्यतिबेला नेपाल अङ्कतालिकाको शीर्ष स्थानमा रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्