गुल्मीको रिडीमा लालीगुराँसको मनमोहक दृश्य

गुल्मी I गुल्मी जिल्लाको धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको रिडी क्षेत्र यतिबेला लालीगुराँसले ढकमक्क भएको छ।
रिडीको जङ्गलमा राता लालीगुराँस फुलेर रमणीय बनेपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ।

फागुनदेखि वैशाखसम्म लालीगुराँस फुल्ने यस क्षेत्रमा प्राकृतिक सुन्दरताको अवलोकन गर्न दैनिक सयौँ पर्यटक आउने गरेका छन्। लालीगुराँसको मनमोहक दृश्यसँगै फोटो खिच्न र रमाउन पर्यटकहरू लालायित देखिन्छन्।
रिडी मन्दिरका पुजारी कृष्णप्रसाद पाठकका अनुसार, लालीगुराँसले रिडीको धार्मिक महत्त्वलाई थप उजागर गरेको छ। “यस क्षेत्रमा विभिन्न प्रजातिका लालीगुराँस फुलेका छन्, जसले यहाँको वातावरणलाई अझै सुन्दर बनाएको छ,” उनले भने ।

रिडी क्षेत्र जैविक विविधताले पनि धनी छ। यहाँ कालो ऐँसेलु, महुवा, सत्तुवा, नागबेली लगायत १ सय ६१ प्रजातिका जडीबुटी पाइन्छन्। तर, ठूला र सुक्न लागेका लालीगुराँसका बोटहरूको संरक्षणमा चुनौती देखिएको छ। भएका बोटहरू सुक्दै जानु र नयाँ बोटहरूको संरक्षणमा चासो नदिँदा लालीगुराँसको अस्तित्व सङ्कटमा पर्न सक्ने स्थानीयले चिन्ता व्यक्त गरेका छन्।
रिडीको लालीगुराँसले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। यसको संरक्षणका लागि स्थानीय सरकार र सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्ने देखिन्छ।
प्रतिक्रिया राख्नुहोस्