तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतमा आप्रवासी स्रोत केन्द्रको उद्घाटन

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका (वीनपा) ले जिल्ला प्रशासन कार्यालय परिसरभित्र आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष) सञ्चालनमा ल्याइएको छ ।

वैदेशिक रोजगारी सम्बन्धि सही सूचना प्रदान गर्ने उद्देश्यले आज वीरेन्द्रनगरका उप–प्रमुख नीलकण्ठ खनालले विधिवत् रुपमा सहायता कक्षको उद्घाटन गर्नुभयो । उहाँले वीनपाको आगामी बजेट निर्माण ताका टोल विकास तहसम्मै पुग्ने गरी सुरक्षित वैदेशिक रोजगारसँग सम्बन्धित कार्यक्रमहरू निर्माण गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दिर्घनारायण कोइरालाले विदेश जाने लहरलाई रोक्न र रिटर्नीहरुका लागि समेत सरकारले विशेष प्याकेजमै कार्यक्रम ल्याउनुपर्ने देखिएको बताउनुभयो ।

यस्तै सुर्खेतका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले विदेशमा रगत पसिना बगाएर पठाएको रकम घरपरिवारले के, कसरी खर्च गरिरहेका छन् भन्ने बारेमा वित्तीय साक्षरताका कक्षा सञ्चालन गर्न आवश्यक रहेको औँल्याउनुभयो ।

कार्यक्रममा आप्रवासी परामर्शकर्ता सीताकुमारी वलीले एक महिने प्रतिवेदन प्रस्तुत गर्दै हालसम्म जम्मा ५ सय ५१ जनालाई आफूहरूले सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी परामर्श दिएको बताउनुभयो । उहाँले कर्णाली उत्सवमा वैदेशिक रोजगार बोर्ड सचिवालय मार्फत स्टलबाट १ सय ९२ जना र जिल्ला प्रशासन कार्यालय सुर्खेतको हाताभित्र सञ्चालनमा रहेको आप्रवासी परामर्श केन्द्रबाट ३ सय ५९ जनाले सेवा लिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button