झापाका तीनवटा जंगलमा डढेलो
भद्रपुर, झापा। झापाका तीनवटा जंगलमा डढेलो लागेको छ। तीव्र गतिको हावाहुरीका कारण डढेलोले ठूलो क्षेत्रफलको वनमा क्षति पुगेको छ।
हिजो अपरान्ह भद्रपुर-४ स्थित मायालु सामुदायिक वनमा लागेको डढेलोबाट करिब ५० विगाहा वन क्षेत्र क्षति भएको छ। प्रहरी र भद्रपुर तथा विर्तामोड नगरपालिकाका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
त्यस्तै, दमक-१० स्थित रमा सामुदायिक वनमा पनि डढेलो लागेको छ। तीव्र गतिको हावाहुरीका कारण आगो फैलिँदै गई नजिकै रहेको घोपबहादुर धिमालको कटेरोसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
अर्को, बुद्धशान्ति गाउँपालिका-६ स्थित ज्यामिरे सामुदायिक वनमा पनि आगलागी भएको प्रहरीले जानकारी दिएको छ। डढेलोबाट करिब २५ हेक्टर वनमा क्षति पुगेको वन समितिका अध्यक्ष खेमराज कुइँकेलले बताउनुभयो।
प्रतिक्रिया राख्नुहोस्