शान्ति सुरक्षाका लागि प्रभावकारी तयारी गर्न सरकारसँग सांसदहरुकाे माग

काठमाडौँ I प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले देशमा शान्तिसुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसदहरुले पछिल्लो ९ दिनमा काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा १५ जनाको शव फेला परेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै यस्ता घटनाले देशमा शान्ति सुरक्षाको अवस्थामाथि चुनौती थपेको बताउनुभयो ।
उहाँहरूले देशमा शान्ति सुरक्षाका लागि प्रभावकारी तयारी गर्न सरकारसँग माग गर्नुभयो ।
सांसदहरुले बाजुरामा मृत आत्माले शान्ति पाउने मान्यताका कारण जिउँदो गाईलाई कुटीकुटी खोलामा बगाएको घटनाबारे संसदमा जानकारी गराउँदै जिउँदो गाई खोलामा बगाउनेलाई कडा कारबाहीको माग गर्नुभयो ।
सांसदहरुले तराइका विभिन्न जिल्लामा नागरिकहरूले पानी, लालपुर्जा, शान्ति, सुरक्षालगायतको माग गरिरहेको भन्दै त्यसको व्यवस्थापन गर्न सरकारसँग माग गर्नुभयो ।
सांसदहरुले देशमा बढिरहेको लागुऔषध दुर्व्यसनी नियन्त्रण गर्न लागुऔषध विरुद्धको अभियान देशभर लैजानेगरी व्यवस्था गर्न माग गर्नुभयो ।
सांसदहरुले विगत वर्षहरुमा बाढी, पहिरो डुबानलगायतले क्षति पुर्याएका भौतिक संरचनाहरूको पुनर्निर्माणका लागि ध्यान दिन सरकालाई आग्रह समेत गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्