तपाईँ सुन्दै हुनुहुन्छः

सरकारको कामबाट जनतामा आशा जागिसक्यो : मन्त्री तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकार गठन भएको छोटो अवधिमा गरिएको नवीनतम कार्यबाट जनतामा आशा जगाएको बताउनुभएको छ । 

राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) लिखु गाउँपालिकाको प्रथम अधिवेशनलाई आज लिखु–६ छहरेमा सम्बोधन गर्दै मन्त्री डा तिमिल्सिनाले देश र जनतालाई हितमा राखेर सरकारले गरेका कार्यबाट सरकारी सेवा र सामाजिक न्यायको क्षेत्रमा भएका सुधारले सकारात्मक प्रभाव पैदा हुँदै आएको बताउनुभयो ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले विगतका दिनमा राजनीतिले राज्यका निकाय र सार्वजनिक सेवा प्रवाहलाई बिचौलियाले नियन्त्रणमा लिएर जनतामाथि गरिएका अन्यायलाई उन्मुक्ति दिलाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । सरकार गठन भएको छोटो अवधिमै भएका कामकारबाहीबाट सामान्य नागरिकले समेत राहत पाउने गरेर सुधार गरिएको उहाँको भनाइ छ ।

सञ्चार मन्त्रालयअन्तर्गतका नेपाल टेलिकम, हुलाक लगायत नवीनतम काम गर्दै जनतालाई राहत दिन आफूले योजनाबद्ध रूपमा काम गर्दै आएको उहाँले जानकारी दिनुभयो । अगामी पाँच वर्षमा रचनात्मक काम गरेर जनतालाई परिवर्तनको महसुस गराई जनताको मुहारमा खुसी ल्याउन अहिलेको सरकार सफल हुने उहाँले विश्वास दिलाउनुभयो । 

मन्त्री तिमिल्सिनाले जनतालाई केन्द्रमा राखेर राजनीतिक गर्न पार्टी पङ्क्तिलाई सुझाव दिनुभयो । नयाँ नेतृत्व चयनका लागि सौहार्दपूर्ण वातावरणमा निर्णय गर्न सुझाव दिँदै उहाँले अहिलेको राजनीतिक नयाँ मोडमा रहेकाले सोहीअनुसार अघि बढ्न सचेत गराउनुभयो । 

देश र जनतालाई निश्चित ठाउँमा पुर्‍याउने औजारका रूपमा राजनीतिलाई रास्वपाले लिएको उल्लेख गर्दै उहाँले पार्टीमा जोडिने र जिम्मेवारीमा रहने व्यक्तिले जनताको सेवालाई केन्द्रमा राखेर काम गर्नुपर्ने स्मरण गराउनुभयो । 

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button