ताप्लेजुङ देखि सुरु गरे १२ नेपाली महिलाले ग्रेट हिमालयन ट्रेल पदयात्रा

ताप्लेजुङ । नेपालको पर्यटकीय क्षेत्रको प्रचारप्रसार साथै साहसिक पदयात्रामा महिलाको सहभागिता बढाउने उद्देश्यका साथ १२ नेपाली महिलाले ताप्लेजुङ—दार्चुला सम्मको एक सय दिने पदयात्रा सुरु गरेका छन् ।
ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि कञ्चनजङ्घा हिमालको आधार शिविर घुन्सा हुँदै दार्चुला पुगेर टुङ्गिने गरी १२ जना महिलाले सोमबार देखि पदयात्रा सुरु गरेका हुन ।
विश्वमै सबैभन्दा लामो तथा चुनौतीपूर्ण पदमार्गमध्ये नेपालको ग्रेट हिमालयन ट्रेल (जीएचटी) विश्वभर पर्यटक तथा व्यवसायीहरू माझ लोकप्रिय छ । सुदूर पूर्वी जिल्ला ताप्लेजुङबाट सुरु भएर १७ वटा हिमाली जिल्लाहरूको फेदैफेद सुदूरपश्चिमको दार्चुलामा टुङ्गिने १७ सय किलोमिटर लामो रुट रहेको छ ।
पदयात्रामा सिन्धुपाल्चोककी आरोही माया गुरुङले नेतृत्व गर्नु भएको छ । गुरुङसँगै सिन्धुपाल्चोककै शान्ति थिङ तामाङ, सङ्गीता विश्वकर्मा, दिपा लामिछाने, रंजिता लामा, वर्षा बिक, सरस्वती तामाङ, श्रृष्टी तामाङ, अनिशा श्रेष्ठ, संगीता तामाङ, प्रमिता सापकोटा र मनमाया तामाङ लगायत रहनु भएको छ ।
विश्वको उत्कृष्ट गन्तव्य रहेपनि यो मार्ग विविध कारणले ओझेलमा परेको भन्दै सकारात्मक सन्देश प्रवाह गर्ने साथै नेपाली महिलाहरूलाई अझ बढी हिमाल आरोहण, साहसिक पदयात्रालगायत पर्यटन व्यवसायमा सहभागी गराउनका लागि प्रोत्साहन गर्ने उद्देश्यका साथ यो पदयात्रा सुरु गरिएको पदयात्राको नेतृत्व गर्नुहुने माया गुरुङ बताउनुहुन्छ ।
नेपालको हिमशृङखला मात्र नभएर जैविक विविधता, धार्मिक, संस्कृतिक र प्रकृतिको सुन्दरताले भरिएको देश भएकोले विश्वमाझ प्रचारप्रसारका लागि सानो प्रयास स्वरूप आफूहरूले निजी रकम सङ्कलन गरेको माया बताउनुहुन्छ । पदयात्रीहरूले प्रतिव्यक्ति १५ लाख रुपैयाँ भन्दा बढी सम्म खर्च हुने आकलन गरेको समेत माया बताउनुहुन्छ । १२ जना पदयात्री सहित २४ जान सहयोगी रहने छन् । १९ देखि ४५ वर्ष सम्मका महिला पदयात्री रहेका छन् ।
ग्रेट हिमालयन ट्रेल अन्तरर्गत पूर्वी नेपालको कञ्चनजङ्घा देखि पश्चिमको फारवेष्ट दार्चुला सम्मका यी सम्भावित पर्यटकीय स्थललाई समेटिएको छ । उक्त १० वटा भाग अन्तर्गत कञ्चनजङ्घा क्षेत्र, मकालु–बरुण, एभरेष्ट–रोलवालिङ, हेलम्बु–लामटाङ, गणेश हिमाल–मनास्लु, अन्नपूर्ण र मुस्ताङ, डोल्पा, जुम्ला, हुम्ला र फारवेष्ट नेपाल रहेका छन् । ६१ सय मिटर उचाइसम्मको पदयात्रा गर्ने छन् ।
यता ताप्लेजुङ आइपुगेका पदयात्रीलाई ताप्लेजुङको होटल व्यवसायी सैल आज स्वागत गरेको छ भने कञ्चनजङ्घा क्षेत्रका फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बुहरूले स्वागत गर्न कार्यक्रम तय गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्