तपाईँ सुन्दै हुनुहुन्छः

सुरक्षा निकायलाई डढेलो नियन्त्रण सामग्री हस्तान्तरण 

उदयपुर । डिभिजन वन कार्यालय उदयपुरले जिल्लास्थित सुरक्षा निकायलाई वनमा लागेको डढेलो नियन्त्रणका लागि अग्नि नियन्त्रण सामग्री हस्तान्तरण गरेको छ । 

आज डिभिजन वन कार्यालय गाईघाटले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई अग्नी नियन्त्रण सामग्री हस्तान्तरण गरेको हो । 

पछिल्लो समय उदयपुरमा दिनप्रति दिन आगलागीका घटना बढ्दै गएपछि आगो नियन्त्रणमा सघाउ पुर्‍याउने उद्देश्यले सुरक्षाकर्मीलाई अग्नि नियन्त्रणका उपकरण हस्तान्तरण गरेको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख सञ्जीवराज ढकालले बताउनुभयो ।

डिभिजन वन कार्यालयले ब्याक वाटर पम्प, फायर क्यार, जम्प सुट, फायर साबेल हस्तान्तरण गरेको छ । वन कार्यालयले नेपाली सेनाको पशुपति प्रसाद गण पिपलटार ब्यारेक, सशस्त्र प्रहरीको नम्बर ५ गण बोक्से र जिल्ला प्रहरी कार्यालय उदयपुरलाई उक्त सामाग्री हस्तान्तरण गरेको हो ।

अग्नि नियन्त्रण सामग्रीको प्रयोगले वन डढेलो नियन्त्रणमा सहज हुने हुँदा उक्त सामाग्री उपलब्ध गराएको वन कार्यालय उदयपुरका प्रमुख ढकालको भनाइ छ ।

अग्नि नियन्त्रण सामाग्री हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले कसैले जानी–जानी वनमा आगो लगाउने कार्य गरे जोकोहीलाई पनि कानुनी कारबाही गर्ने निर्णय भइसकेको बताउनुभयो । 

वन डढेलोले जैविक विविधतामा ठूलो असर पुर्‍याउने हुँदा वन कार्यालयले दिएको सामग्रीलाई सही रुपमा प्रयोग गरि अग्नी नियन्त्रणमा लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button