तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुराको नवदुर्गा गाउँपालिकाका तीन वटा शाखा कार्यालयमा आगलागी

डडेल्धुरा । जिल्लाको नवदुर्गा गाउँपालिका केन्द्रमा रहेका तीन वटा शाखा कार्यालयमा आगलागी भएको छ । 

शनिबार दिउँसो डेढ बजेको समयमा पालिका मुकाम नजिक रहेको जङ्गलबाट फैलिएको आगो स्वास्थ्य शाखा, महिला तथा बालबालिका शाखा र आन्तरिक लेखा परिक्षण शाखामा पुग्दा क्षति भएको गाउँपालिका अध्यक्ष लक्ष्मी प्रसाद अवस्थीले जानकारी दिनुभयो । 

प्रिप्याफको संरचना भएकाले भित्र लागेको आगो निभाउन समस्या भएको सूचना अधिकारी करुणाकर भट्टले बताउनुभयो । पालिका मुकाम तथा शाखा कार्यालयहरू जङ्गलको विचमा भएकोले जङ्गलमा लागेको आगो सल्किएको भट्टले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष अवस्थीले शाखा कार्यालयमा भएको आगलागी नियन्त्रणमा आए पनि चारैतिर आगलागी भइरहेकाले पुनः समस्या नआओस् भन्नका लागि स्थानीयसहित सेना र प्रहरीलाई खबर भइरहेको बताउनुभयो । उक्त क्षेत्रमा पानीको समेत समस्या भएकाले आगलागी नियन्त्रणमा चुनौती रहेको पालिकाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button