तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी कप महिला फुटबलको उपाधि एपीएफ क्लबले जित्यो

नेपालगन्ज । विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १(० गोल अन्तरले हराउँदै एपीएफले उपाधिमाथि कब्जा जमाएको हो । 

आज नेपालगन्ज रङ्गशालामा भएको निकै कडा प्रतिस्पर्धात्मक फाइनल खेलमा एपीएफले पुलिसलाई अन्तिम समयमा स्तब्ध बनाएको हो । एपीएफका तर्फबाट अन्तिम मिनेटमा गीता रानाले एक मात्र निर्णायक गोल गरिन् । उनी नै प्लेयर अफ द म्याच भइन् । एपीएफले रौतहट फुटबल सङ्घको टोली र पुलिसले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् । 

उपाधिसँगै एपीएफले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार हात पार्दै ट्रफी उचालेको छ । उपविजेता बन्दै पुलिसले २ लाख ५० हजारमा चित्त बुझायो । प्रतियोगिताको उत्कृष्ट खेलाडी एपीएफकी कप्तान अनिता बस्नेत घोषित हुँदै नगद रु. २५ हजार प्राप्त गरिन् । प्रतियोगितामा उत्कृष्ट गोलकिपर पुलिसकी उषा नाथ, उत्कृष्ट डिफेन्डर एपीएफकी गीता राना, मिडफिल्डतर्फ एपीएफकै सरु लिम्बू, स्ट्राइकर एपीएफकी अनिता केसी र उत्कृष्ट प्रशिक्षक पनि एपीएफकै भगवती थापा घोषित भए । उनीहरूले जनही नगद रु। १० हजार रुपैयाँ प्राप्त गरे । 

प्रतियोगितामा नेपाल र भारतका गरेर ८ वटा टिमको सहभागिता थियो । घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलिगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल संघ टिमको सहभागिता थियो । 

बाँके जिल्ला फुटबल सङ्घसँगको सहकार्यमा अन्तरालले आयोजना गरेको प्रतियोगिता वैशाख ५ गतेदेखि सुरु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button