तपाईँ सुन्दै हुनुहुन्छः

बेलकोटगढीलाई बालमैत्री स्थानीयतह र बालश्रम मुक्त पालिका घोषणाको तयारी

नुवाकोट । बेलकोटगढी नगरपालिकालाई बालमैत्री स्थानीयतह र बालश्रम मुक्त पालिका घोषणाको तयारी गरिएको छ । नगरपालिकाको बार्षिक नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन अन्तरगत अबको एक आर्थिक वर्षभित्र बालमैत्री स्थानीयतह र बालमश्रम मुक्त पालिका घोषणा गर्ने लक्ष्यको साथ काम अघि बढाएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँको अनुसार प्रत्येक वडामा एक–एक जना गणक तोकेर घरधुरी सर्वेक्षण गर्न खटाइएको छ । उनीहरुलाई एक महिनाको अवधि दिइएको छ । खटिएका गणकहले नगरबासीको प्रत्येक घरमा पुगेर करीब एकसय ४० वटा प्रश्नावली दिएर तथ्याङ्क ल्याउने जिम्मेवारी दिइएको छ ।

यसअघि नगरपालिका मार्फत बालमैत्री स्थानीयतहसंग सम्बद्ध रहेर बिनियोजन गरिएको बजेट, त्यसको कार्यान्वयन, विशेष गरेर शिक्षा र स्वास्थ्यको क्षेत्रमा हासिल गरिएका उपलब्धीलाई तथ्याङ्कको रुपमा तयार गर्न लागिएको नगर उपप्रमुख शिवप्रसाद दाहालले जानकारी दिनुभयो ।

यसअघि प्रत्येक विद्यालयमा सञ्चालन गरिएको उपमेयरसंग बालबालिका लगायतका कार्यक्रम मार्फत भएका प्रगति तयार गरिने र आवश्यक अपुग हुने प्रगतिलाई आगामी दिनमा आवश्यक बजेट मार्फत सम्बोधन गर्दै बेलकोटगढीलाई बालमैत्री स्थानीयतह र बालमश्रम मुक्त पालिका घोषणा गरिने उपप्रमुख दाहालको भनाई छ ।

त्यसको लागी नगरप्रमुख जगतबहादुर गुरुङको संयोजकत्वमा एकीकृत रुपमा बालश्रम मुक्त स्थानीयतह घोषणा कार्यविधि र बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि बमोजिम स्थानीय समन्वय÷सहजिकरण समिति गठन गरिएको छ । समितिको पहिलो बैठक नगरपालिकाको कार्यालयमा सम्पन्न गर्दै कार्ययोजना सहितको नयाँ रणनीति तय गरिएको समितिका सदस्य सचिव हरिप्रसाद गजुरेलले जानकारी दिनुभयो ।

उहाँको अनुसार समितिको बैठकले घरघरमा तथ्याङ्क संकलनको लागी गणक परिचालन गर्ने, पालिकाको विभिन्न शाखाहरुबाट आवश्यक विवरण अध्यावधिक गर्ने र प्राप्त तथ्याङ्कको समीक्षा गर्दै थप सुधार तथा सञ्चालन गर्नुपर्ने कार्यक्रमको लागी योजना तथा बजेटको प्रबन्ध गर्दै आगामी आर्थिक वर्ष बेलकोटगढी नगरपालिकालाई बालमैत्री स्थानीयतह र बालमश्रम मुक्त पालिका घोषणा गर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button